मुस्ताङी ऐतिहासिक राजा जिग्मे सिङ्गे पलवर बिष्टले शनिबार जिल्लाबासीलाई कोरोना भाईरस ( कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सुझाएका छन् । सरकारले कोरोना दोश्रो चरण पुगेको सार्वजनिक गरेलगत्तै उनले जिल्लाबासीका नाममा सन्देश प्रवाह गर्दै कोरोना प्रति उच्च सर्तकता अपनाउन आग्रह गरेका हुन् ।
राजा बिष्टले जिल्लामा कोरोना रोकथाम तथा नियन्त्रणका लागि उपल्लो मुस्ताङी युवाहरुले अपनाएको सावधानी र उच्च सर्तकताकोे खुलेरै प्रंशसा गरे । अहिले कोरोनाको संक्रमकालिन बिषम अवस्था आईपरेकाले हामी सबै मुस्ताङी जनता मिलेर नेपाल सरकारले गरेको निर्णयलाई ईमान्दारिताका साथ कार्यान्वयन गर्न मुस्ताङीबासीलाई अनुरोध गरेका छन् ।
उपल्लो मुस्ताङको सास्कृतिक धरोहर मुस्ताङी राजा पलवर बिष्टले मुस्ताङी जनताले घर फर्किन नपाएको प्रति चिन्तित रहेको जनाएका छन् । उनले हिउदे व्यापारमा निस्किएका र घुम्ती विद्यालयका रुपमा पोखरामा बसेका सबै मुस्ताङीहमा घर फर्किन नपाएकोमा दुःख व्यक्त गर्दै कोरोना संकटकालिन बिषम अवस्थालाई बुझेर धैर्यता अपनाउन समेत अनुरोध गरेका छन् । उनले बिद्यमान परिस्थिती बुझिदिनसमेत गाउबासीलाई आग्रह गरे । विश्व समुदायनै यतिबेला आक्रान्त बनेका बेला हामीले पनि यसलाई हेलचक्रयाई नगर्न राजा बिष्टले गाउबासीलाई अनुरोध गरे ।
पोखरामा अहिले २ सय ७६ जना मुुस्ताङी छन् । जसमा अधिकांश लोमान्थाङ गाउपालिकाका छन् । ऐतिहासिक मुस्ताङी राजा बिष्ट जिग्मे फाउन्डेसनका संस्थापक हुन् । २०५९ सालमा दर्ता भएको यस संस्थाले उपल्लो मुस्ताङको सामाजिक ,सास्कृृतिक ,शेीक्षिक र स्वास्थ्य लगायतका क्षेत्रमा योगदान गर्दै आईरहेको छ ।
सस्थाले डेढ दशक अघि देखि उपल्लो मुस्ताङका गरिव तथा निमुखा परिवारका वालवालिकालाई जोमसोम छात्राबास सहितको शिक्षादिक्षा दिदै आईरहेको छ । हाल संस्था मार्फत जोमसोमको धौलागिरि बोडिङ स्कुलमा ५० भन्दा बढी वालवालिकाले अध्ययन गर्न पाएका छन् ।
हाल देखिएको कोभिड–१९ कोरोना भाईरस रोकथाम तथा नियन्त्रण गर्न संस्थाले करिव ३ लाख बढीको पीपीई सहितको मेडिकल सामाग्री उपलब्ध गराएको छ । फाउन्डेसनको सहयोगसंगै मुस्ताङमा कोरोना उपचार तथा यसबाट सुरक्षित रहन मेडिकल सामाग्री संकट टरेको छ । संस्थाले मुस्ताङका ५ वटै पालिकालाई मेडिकल औषधि उपलब्ध गराएको छ ।





