पोखराको मुख्य बजार वडा नं. ४ र ५ जोड्न निर्माण गर्न लागिएको फिर्केपुलको समस्या दिनप्रतिदिन बढ्दै गएको छ । सिद्धार्थचोक नजिकैको फिर्के खोलामा नयाँ पुल निर्माण गर्नका लागि करिब ३ महिना अघि भत्काइएको थियो ।
त्यसअघि खोलामा कल्भर्ट राखेर सडक निर्माण गरिएको थियो । पुल निर्माणको समयावधि जम्मा १८ महिनाको छ । तर शुरुवाती ३ महिना त्यत्तिकै गुज्रिसकेको छ ।
खोलाको कल्भर्ट झिकेर ठूलो र डरलाग्दो खाडल बनाइएको छ । दैनिक हजारौं सवारी साधन आवतजावत गर्ने महत्वपूर्ण सडक ३ महिनादेखि अवरुद्ध बनाइएको छ । त्यस आसपासमा रहेका करिब २०० व्यवसायीको विचल्ली हुने अवस्थामा पुर्याइएको छ । यो सम्मकी मानिस आवत–जावत गर्न समेत दिइएको छैन ।
यस सम्बन्धमा हामीले यसअघि पनि समाचार प्रकाशित गरेका थियौं । त्यसको प्रभावमा ३ दिन जति काम भए पनि पुनः अवरुद्ध भएको छ । स्थानीयले वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्यो भनेर बारम्बार ताकेता सम्बन्धित सरोकारवालाले सुन्नेकान लगाएका छैनन् ।
सम्बन्धित वडाका वडाध्यक्षहरू आकलझुकल पुग्छन्, स्थानीयका गुनासो सुन्छन् र काम छिटो हुन्छ भन्दै आश्वासन दिएर फर्कने गरेका छन् ।
पहिले स्थानीयको पिर मर्का सम्बोधन गर्नका लागि पुलको रिसाइज गर्ने भन्दै काम रोकिएको थियो भने अहिले खोलामा रहेको चट्टान भत्काउने मेशिन नपाएको भन्दै काम रोकिएको छ ।
यसले त्यहाँका स्थानीय निकै आक्रोशित बनेका छन् । उनीहरूको २ वटामात्र माग छ, ‘वैकल्पिक बाटो बनाउ र पुल निर्माण छिटो गर ।’ उनीहरूले अब पनि आफूहरूको जायज मागलाई वेवास्ता गरे अदालत जाने चेतावनी समेत दिएका छन् ।
स्थानीय कृष्ण पराजुली ढाका मोहनले स्थानीय जनता काम रोक्ने पक्षमा नभएको भन्दै तुरुन्त वैकल्पिक बाटो निर्माण गर्नुपर्नेमा जोड दिए । उनले ‘सार्वजनिक जग्गा छुट्याएर वैकल्पिक बाटो बनाइदिनुस्’ भन्दा वडाध्यक्षहरू विभिन्न बाहना बनाउँदै गैरजिम्मेवार बन्ने गरेको भन्दै आक्रोशित भए ।
अर्का स्थानीय भीष्म अधिकारी पनि फिर्केको समस्याप्रति चिन्तित छन् । उनले पुल बन्ने ठाउँमा जार्वजनिक जग्गा कति छ भन्ने स्थानीय र वडालाई जानकारी नभएको बताए । उनले यस विषयमा महानगर निकम्मा बनेको भन्दै निकै आक्रोशित बने ।
स्थानीय व्यवसायी गणेश विकले आफूहरू निकै छट्पटाएको बताए । यो ठाउँ छाडेर अन्यत्रै जानुपर्ने बाध्यता आफूहरुलाई परेको बताए । उनले भने, ‘घरभाडा जसरी तिर्नुपर्छ । घर व्यवहार चलाउनुपर्छ । बाटो भत्काइएपछि निकै समस्या भएको छ ।’.
यो समस्या लिएर हामी पोखरा–५ का वडाध्यक्ष तथा पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीलाई पुनः भेट्न गयौं । १ महिना अघिको भेटमा उनले पुल निर्माण कार्य तुरुन्त हुने बताएका थिए ।
यो भेटमा वडाध्यक्ष नेपालीले बाटो निकै महत्व भएको बताए । उनले पोखराका लागि सबैभन्दा बढी आवश्यक पर्ने पुल भएकाले अब छिट्टै शुरु हुने बताए । ‘हामी अघि बढिरेका छौं । केही केही समस्या आएर रोकिएको जस्तो भएको हो । काम भइरहेको छ’, उनले जवाफ दिए ।
स्थानीयको माग वैकल्पिक बाटो हो । त्यस विषयमा दुवै वडाका वडाध्यक्षहरू बसेर सल्लाह गरिरहेका उनले बताए । उनले पुल निर्माण कार्य समयमै सम्पन्न हुने बताए ।
पोखरा–४ का वडाध्यक्ष शंकरप्रसाद बाँस्तोलाले स्थानीयको बुझाई नै गलत भएको प्रतिक्रिया दिए । उनले स्थानीयको माग र आवश्यकता अनुसार नै पुल निर्माण गर्न लागिएको बताए ।
वडाध्यक्ष बाँस्तोला वैकल्पिक बाटो नजिकै २ वटा रहेकाले त्यति समस्या नहुने भन्दै स्थानीयको आक्रोशप्रति पन्छिन खोजे । उनले पोखरा–४ कै पहलमा फिर्के पुल बन्न लागेको भन्दै यो काम छिटो भन्दा छिटो सम्पन्न गर्न आफू लागिपरेको जानकारी दिए ।
यता, पुल निर्माण परियोजनाका इन्जिनियर रामनारायण यादवले मंसिर २१ बाट स्थानीयकै कारणले पुल निर्माण रोकिएको र अहिले खोलामा कडा चट्टान रहेकाले चट्टान भत्काउने मेशिन आउनेक्रममा रहेको बताए । मेशिन आउने वित्तिकै निर्माण कार्य शुरु हुने बताए । इन्जिनियर यादवले ठाउँ साँघुरो भएकाले पुलकै छेउबाट वैकल्पिक बाटो दिन नकिल्ने बताए ।
केन्द्रीय सरकार र महानगरको लगानीमा उक्त पुल निर्माण गर्न लागिएको हो । पुल निर्माणको जिम्मेवारी सानेपा भक्तपुरको शान्ति/आरोग्य जेभीले पाएको छ ।
२३ मिटरको पुल रिसाइज गर्ने भन्दै १७ मिटरमा झारिएको छ र पुल निर्माणको लागत ४ करोड ५५ हजार रुपैयाँ छ । पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०७७ मंसिर ५ गते रहेको छ ।
पोखराको मुटु सिद्धार्थचोकजस्तो ठाउँमा र दैनिक हजारौं सवारी गुड्ने बाटो भत्काएर ३ महिनासम्म विजोग बनाएर राखिनु विडम्वना हो ।
यसले समग्र पोखरालाई नै गिज्याइरहेको छ । यो सडक बन्द भएपछि अन्य स्थानमा जामको समस्या पनि बढेको छ । साथै करिब २०० व्यवसायी निकै मर्कामा परेका छन् । उनीहरू त्यो ठाउँ छाडेर अन्यत्रै सार्ने मनस्थितिमा छन् । त्यसैमध्येका एक व्यवसायी युमराज अगस्ती पसल उठाउन भन्दै सेल लगाएर बसेका छन् ।
उनीहरूको पीडा कस्ले सुनिदिने ? पुल निर्माण गर्नुहुँदैन, विकास गर्नुहुँदैन भन्नेमा कोही पनि छैनन । बाटो भत्काएर ३ महिनासम्म चूप लागेर बस्नु लाजमर्दो विषय हो ।






