सिद्धार्थचोक र त्यही नजिक रहको फिर्केपुल पोखराको मुटुमै छ । त्यही मुटुको सडक हुँदै सानाठूला हजारौं सवारी साधन दैनिक आवतजावत गर्छन् । त्यस सिद्धार्थचोक–फिर्के सडकमा दुवैतर्फ गरि २ सय व्यवसायी छन् । उनीहरूको रोजीरोटी त्यहींको व्यवसायले चलेको थियो ।
तर अहिले ती व्यवसायीको रोजीरोटी मात्र खोसिएको छैन, २ महिनादेखि दैनिक हजारौं सवारीसाधन आवतजावतलाई अवरुद्ध बनाइएको छ । योसम्मकी मानिसहरू आवतजावत गर्न समेत समस्या हुने बनाइएको छ ।
यसको एकमात्र कारण हो फिर्के पुल । स्मार्टसिटी बनाउने भन्दै गत मंसिर २१ गते भैरहेको फिर्केपुल भत्काइयो । ३ दिनसम्म डोजर चलाएर ठूलो र डरलाग्दो खाल्डो पारियो । त्यसपछि न पुल निर्माण गर्ने ठेकेदार आए, न सम्बन्धित सरोकारवाला ।

यसअघि फिर्के खोलामा हिमपाइप राखेर त्यसैमाथि पुरेर पोखरा–४ र ५ जोड्ने पुलजस्तो बनाइएको थियो । त्यही पुलले वर्र्षौंदेखि चल्दै आएको थियो ।
जब महानगरमा नयाँ जनप्रतिनिधिको आगमन भयो, अनि यो पुल काम नलाग्ने भयो, स्मार्ट सिटीको बाधक भयो । यही बाहनामा गत मंसिर २१ गते एक्कासी डोजर हानियो सडक मुनि खोलामा राखिएको हिमपाइप निकालेर फालियो, भैरहेको संरचना भताभुंग पारियो ।

जुनसुकै भौतिक संरचना निर्माण गर्दा स्थानीय तथा छिमेकीसंग सरसल्लाह गर्नुपर्छ तर यहाँ नयाँ पुल बन्दैछ भन्ने स्थानीयलाई अत्तोपत्तो थिएन । जब डोजर आयो अनिमात्र स्थानीयले चाल पाए, फिर्केमा नयाँ पुल बन्दैछ ।
स्थानीय सबै आश्चर्य चकित परे । केही स्थानीयले सो कार्यप्रति विमत्ति पनि जनाए । तर विकासमा बाधक बन्न हुँदैन भन्दै १/२ दिनमै सब चुप लागे । स्थानीय त चुप लागे, संगै पुल निर्माण कार्य पनि चूप लागेजस्तै भयो । २३ मिटरको उक्त पुलको लागत ४ करोड ५५ हजार रुपैयाँ छ । पुल निर्माणको ठेक्का सानेपा भक्तपुरको शान्ति/आरोग्य जेभीले पाएको छ ।
बाटो भत्काइसकेपछि उक्त सडकको विकल्प दिनुपथ्र्यो तर दिइएन । निर्माण कार्य पनि अघि बढ्न सकेन । यही रिसमा स्थानीय आगो भए । वडा, महानगर सबै तिर धाए, धेरैलाई फोन गरे, कसैले उनीहरूको आवाज सुनेनन् ।
त्यहाँस्थित स्थानीयवासी र व्यवसायीका जम्मा २ वटा मात्र माग छ, ‘वैकल्पिक बाटो खुल्नुपर्यो, पुन निर्माण कार्य तुरुन्त शुरु हुनुपर्यो ।’

पुल निर्माण कार्य तुरुन्त हुनुपर्ने स्थानीयवासी कृष्णप्रसाद पराजुली ढाकामोहन । उनी प्रश्न गर्छन्, ‘पोखराको मुटुमा त यस्तो छ अन्य ठाउँमा कस्तो होला ?’ महानगरपालिकाको अकर्मण्यताकै कारण यो पुल अलपत्र परेको उनी बताउँछन् । उनी भन्छन्, ‘पुल भत्काएर छोडिदिंदा स्थानीय र यहाँका उठिबास लाग्ने अवस्था आएको छ ।’ पुल निर्माणको विरोध कसैले नगरेको उनले बताए ।
पुल निर्माण गर्नका लागि बाटो भत्काइए पछि सबैभन्दा बढी पीडित बनेका छन् सिद्धार्थचोक–फिर्केका २०० व्यवसायी । उनीहरूको व्यवसाय २ महिनादेखि ठप्प छ । ‘घरभाडा जसरी बुझाउनुपर्छ, बैंकले १ दिन छाड्दैन’, उनीहरूले पीडा पोखिरहेका छन् ।
यसैमध्येका एक व्यवसायी युगमराज अगस्ती पुल निर्माण गर्नका लागि बाटो भत्काइएपछि शब्दमा व्यक्त गर्नै नसकिने पीडा भएको बताउँछन् । उनले चट्यांक शैलीमा विकास निर्माण गर्न खोजिएको भन्दै आक्रोश पाखे । कसैसंग सरसल्लाह नगरी राजा महाराजाको हुकुमी शासनमा जस्तै गैरजिम्मेवार ढंगबाट विकास निर्माण गर्न खोजिएको उनले बताए ।
अर्का स्थानीय दीपक मुल्मीले पुलले आफूलाई सबैभन्दा धेरै क्षति पुर्याउने भन्दै उचित क्षतिपूर्तिको माग गरे । पुल निर्माण हुन थालेपछि उनको २ वटा सटर बन्द अवस्थामा छ । भवन चर्किएको छ ।

१/२ दिनमै निर्माण कार्य शुरु हुन्छ : प्रवक्ता नेपाली
यहि समस्याबारे पोखरा महानगरपालिकाका प्रवक्ता एवं पोखरा–५ का वडाध्यक्ष धनबहादुर नेपालीले फिर्केको समस्या भनेजस्तो नभएको प्रतिक्रिया दिए । उनले पुलको डिजाइन २३ फिटबाट १७ फिटमा झार्ने र नयाँ प्रक्रिया अघि बढाउँदा केही ढिलाई भएको स्वीकार गरे ।
उनले सबैको गुनासो संवोधन गर्ने गरि पुलको नयाँ डिजाइन तयार गर्दै गर्दा ढिलाइ भएको बताए । उनले केही /२ दिनभित्रै पुल निर्माण कार्य शुरु हुने जानकारी दिए । उनले वैकल्पिक बाटो खोल्नका लागि पनि छलफल गरिरहेको बताए । स्थानीयवासी, व्यवसायीकै चाहना बमोजिम पुल निर्माण हुने उनले बताए ।
यो विषयमा पोखरा–४ का वडाध्यक्ष शंकर प्रसाद बाँस्तोलाको प्रतिक्रिया लिन खोज्दा सम्पर्कमा आउन चाहेनन् ।
पोखराको मुटु सिद्धार्थचोकजस्तो ठाउँमा बाटो भत्काएर २ महिनासम्म विजोग बनाएर राखिनु विडम्वना हो । यसले समग्र पोखरालाई नै गिज्याइरहेको छ । यो सडक बन्द भएपछि अन्य स्थानमा जामको समस्या पनि बढेको छ । साथै करिब २०० व्यवसायी निकै मर्कामा परेका छन् । उनीहरूको पीडा कस्ले सुनिदिने ?
पुल निर्माण गर्नुहुँदैन, विकास गर्नुहुँदैन भन्नेमा कोही पनि छैनन । बाटो भत्काएर २ महिनासम्म चूप लागे बस्नु लाजमर्दो विषय हो । कपोखरा महानगरजस्तो ठाउँमा त यस्तो हविगत छ भने अन्य ठाउँमा कस्तो त होला ? जनजनको प्रश्न छ ।
भिडियोमा पनि हेर्नुहोस्






