1. आत्तुरी मा लेख्न पर्दा वा संयुक्ताक्षर काे जटिलता घटाएर लिपि लाई सरल र सुन्दर तुल्याउनु पर्दा पञ्चम वर्ण का सट्टा शिरबिन्दु काे प्रयाेग गर्नु पनि उपयाेगी हुन्छ । जस्तै शंकर, शंखधर, संघीयता, पंचामृत, मंजन, गीतगुंजन, कंटकारि, मुखमंडल, विचारमंथन, दंतबजान, मंथरगति, शिवमंदिर, संज्ञा, संक्षेप, जनसंपर्क, शंभुनाथ आदि ।
2 . एसरी शिरबिन्दु काे प्रयाेग भएका शब्द लाई अशुद्ध भनेर हेला गर्नु उचित हाेइन । काेशकार ले एस्ता शब्द लाई अनिवार्य रूप ले काेश मा स्थान दिनु पर्छ । अन्यथा तेस प्रकार का शब्द राखेर छपाइएका पुस्तक का शब्द हरू ले न्याय पाउँदैनन् । तर याे व्यवस्था वैकल्पिक भने हुनु पर्छ र अग्रस्थान चाहिँ पञ्चम वर्ण लाई नै दिइनु पर्छ । किन भने-
3. पञ्चम वर्ण लाई अग्रस्थान दिँदा संस्कृत सँग काे हाम्राे निकटता अरू घनिष्ठ बन्दछ र भाषाविज्ञान र लाेकाेच्चारण सँग हाम्राे सामञ्जस्य पनि भत्कन पाउँदैन । तर पञ्चम वर्ण प्रयाेग गर्दा पनि त्रिवि ले चलाएकाे शैली मा जान भने हुँदैन । त्रिवि शैली अरू विविध कुरा मा जस्तै एस विषय मा पनि एकदमै अवैज्ञानिक छ र याे शैली लाेकाेच्चारण काे विपक्ष मा पनि छ ।
4 . त्रिवि शैली कसरी तेस्ताे अवैज्ञानिक र लाेकभाषा प्रतिकूल छ त ? एस विषय मा मैले सञ्चार माध्यम हरू बाट धेरै चाेटि भनिसकेकाे छू र त्रिवि मा
तेस शैली का मूल संस्थापक प्रा बालकृष्ण पाेखरेल (र उहाँ काे समूह ) का सदस्य हरू सँग पनि भनिसकेकाे छू । उहाँ हरू ले आत्मालाेचना गर्दै तेस सिद्धान्त बाट आफू पृथक् भएकाे कुरा र २०३४ साल काे मान्यता लागू नगर्न सम्बन्धित क्षेत्र लाई भनिसकेकाे कुरा पनि पत्र पत्रिका मै आइसकेकाे छ ।
5 . संस्थापक हरू बाटै तेसरी आत्मालाेचना का साथ गलत भनेर फिर्ता लिइसकिएकाे र एक प्रकार ले उपेक्षित बनिसकेकाे नीति लाई नै उक्त नीति का अनुयायी त्रिवि र प्रज्ञा का विद्वत्समुदाय (जहाँ आज पनि एक से एक दिग्गज विद्वान् हरू हुनुहुन्छ) ले किन अपनाइरहनु भएकाे हाेला ? भनेर गुन्दा भने आश्चर्य लाग्छ ।
6 . त्रिवि ले २०३४ साल मा निर्धारित गरेकाे पञ्चम वर्ण वाला सिद्धान्त ध्वनि काे आधार मा नभएर तत्सम, तद्भव र आगन्तुक काे वर्गीकरण वर्गीकरण का आधार मा थियाे । जसलाई मैले उसै बेला एसाे नगराैं भनेकाे थिएँ । किन भने तेस सिद्धान्त मा चल्दा सिकारु विद्यार्थी ले शब्दै पिच्छे ‘ मैले लेख्न लागेकाे शब्द तत्सम हाेला कि आगन्तुक ? अथवा तद्भव पाे हाेला कि ? भनेर घाेरिनु पर्छ र तेसमा ढुक्क भएर लेखिसके पछि पनि लाेकाेच्चारण सँग लेखिएकाे शब्द ले मेल खाँदैन र नेपाली पद्धति नै बदनाम हुन पुग्छ।
०००
7 . उदाहरण मा मण्डल र बण्डल, पण्डा र पण्डाल, रण्डा र रण्डी आदि शब्द लिन सकिन्छन्। मेरा मत मा उक्त छ वटै शब्द शुद्ध हुन्छन्, तर त्रिवि काे मत मा बण्डल, पण्डाल र रण्डी शब्द अशुद्ध हुन्छन् । त्रिवि काे नियम ले तत्सम शब्द मा मात्र ण लेख्न पाइन्छ । बाँकी शब्द मा णकार का सट्टा नकार कै प्रयाेग गर्नु पर्छ। एस नियम अनुसार मण्डल मा ण् वर्ण र बण्डल मा न् वर्ण तथा पण्डा मा ण् वर्ण र पण्डाल मा न् वर्ण लेखिनु पर्छ ।
8 . अर्थात् बडाे झनझटिलाे छ । त्रिवि वा नेपाल प्रज्ञा काे नियम अनुसार पण्डित मा ण् वर्ण हुनै पर्छ तर पण्डितिनी मा न वर्ण हुनु पर्छ, पाण्डित्य मा ण् वर्ण अपरिहार्य छ तर पण्डित्याईं मा फेरि ण् वर्ण लेख्दा अशुद्ध भनेर विद्यार्थी ले खप्की खान्छन् र परीक्षा मा उनका अंक घटाइन्छन् ।
9 . साथै केही शब्द मा शिरबिन्दु अनिवार्य पनि छ । जस्तै वंश, वंशाणुगत, वंशीधर, संवत्, संवाद, संविधान, संवेदना, संशय, संशाेधन, संसद्, संसर्ग, संसार, संस्करण, संस्कृति, संस्था, हिंसा, र सिंह आदि साथै ज्ञ तथा क्ष भन्दा पूर्ववर्ती अक्षर मा पनि शिरबिन्दु चिह्न व्यावहारिक हुन सक्छ ।




