ताजा समाचार

कार्तिक २० गते २०७६

देउवाले धनराज छोडेर खेमराज रोज्दा…, को हुन् खेमराज ?

कास्की क्षेत्र नं. २ मा नेपाली कांग्रेसले पनि उम्मेदवारको टुंगो लगाएको छ । कास्की जिल्लाको निरन्तर दवाव र केन्द्रमा लामो रसाकस्सी पछि कांग्रेसका पूराना नेता खेमराज पौडेलले टिकट पाएका छन् ।

बुधबार मध्यान्हसम्म केन्द्रीय सदस्य धनराज गुरुङले टिकट पाउने चर्चा चले पनि नेता धनराज गुरुङ स्वयंले आफू कास्की–२ मा जान नचाहेको बताएपछि सभापति शेरबहादुर देउवाले खेमराज पौडेललाई उम्मेदवार बनाएका हुन् ।

नेता गुरुङलाई उम्मेदवार बनाउन सभापति देउवाले अन्तिम समयसम्म अडान लिइरहेका थिए । तर यसमा वरिष्ठ नेता रामचन्द्र पौडेल नेता कृष्ण सिटौला र महामन्त्री सशांक कोइराला भने खेमराज पौडेलको पक्षमा थिए ।

कांग्रेस पदाधिकारी बैठक बुधबार चलिरहेको समयमा नेता गुरुङ बैठकमै सहभागी भएर आफू उम्मेदवार बन्न नचाहेको बताए पछि देउवा खेमराजलाई उम्मेदवार बनाउन राजी भएका हुन् ।

कास्की–२ को उम्मेदवार टुंगो लागे पनि अन्य क्षेत्रका उम्मेदवारमा सहमति नजुटे पछि सभापति देउवा इतरका नेताहरू सबै जिम्मा देउवालाई लगाउँदै बैठकबाट निस्किएका थिए ।

कास्की २ मा कांग्रेसका १६ जना आकांक्षी थिए । उनी कास्की २ का लागि आकांक्षीभन्दा बाहिरबाट उम्मेदवार बनेका हुन् ।

कास्की कांग्रेसले सार्वजनिक रुपमै बाहिरका उम्मेदवार पठाए फिर्ता पठाउने चेतावनी दिएको थियो । यसैले पनि नेपाली कांग्रेसलाई उम्मेदवार छान्न सकस परेको थियो ।

छलफलका क्रममा नेताहरूले धनराज गुरुङ, देवराज चालिसे र खेमराज पौडेलको नाममा गम्भीर छलफल गरेका थिए । यी ३ जनामा सभापति देउवाले धनराज गुरुङ रोजे भने देउवा इतकार नेताहरूले खेमराज पौडेल रोजेका थिए ।

कास्की कांग्रेसको चेतावनी, १६ जना आकांक्षी कै असहयोग हुने र विपक्षी पार्टीले पनि टुरिष्ट उम्मेदवार भनेर व्याख्या गर्ने डरले नेता धनराज गुरुङ उम्मेदवार बन्ने ईच्छुक भएनन् ।

नेता खेमराज पौडेल कांग्रेस राजनीतिका पूराना र माहिर नेता मानिन्छन् । राजनीतिमा उनी सबैका गुरु मानिन्छन् । धेरैले उनलाई ‘खेमराज गुरु’ भनेर संवोधन पनि गर्छन् ।

उनीभन्दा धेरै पछि राजनीति गरेका धेरैले अवसर पाए । तर उनले यस्तो अवसर पाउन सकेका थिएनन् । उनले टिकट पाएसंगै कास्कीका पूराना नेता कार्यकर्ता उत्साहित भएका छन् ।

को हुन् खेमराज ?
खेमराज पौडेल लामो समयदेखि काँग्रेसमा निरन्तर रुपमा लागि रहेका नेता हुन् । उनको बीपी कोइरालासँग पनि राम्रो सम्पर्क र चिनजान थियो भन्ने गरिन्छ ।

पञ्चायत र सशस्त्र युद्धका क्रममा पार्टी अप्ठ्यारोमा पेरका बेला उनले कास्कीमा संगठन निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए ।

७४ वर्षमा चल्दै गरेका पौडेल हाल गणेशमान सिंह प्रतिष्ठान कास्कीको संयोजकको जिम्मेवारीमा छन् । कास्की पुम्दीभुम्दी निवासी उनले लामो समय पोखराको प्रौढ माध्यमिक विद्यालय (हालको नवप्रभात मावि) स्थापना गरी शिक्षण पेशामा अँगालेका थिए ।

उनले शिक्षण पेशाबाट अलग्एिपछि भने कास्की कांग्रेसको जिल्ला उपसभापतिको जिम्मेवारी समेत सम्हालेका थिए । त्यसपछि कांग्रेस विभाजन हुँदा उनी शेरबहादुर देउवा नेतृत्वको कांग्रेस प्रजातान्त्रिकका कास्की सभापति भएका थिए ।