मन्त्री–सांसदलाई दशैं खर्च, जनतालाई मूल्यवृद्धि !

नेपाली महान चाड दशैं नेपालीको घरमा भित्रिसकेको छ । अहिले सबै नेपालीलाई दशैंको कसरी जोहो गर्ने भन्ने चिन्ताले सताएको छ ।

बजार भाउ चुल्लिएका बेला सर्वसाधरणलाई दशैं कसरी मनाउने भन्ने चिन्ता छ । आम नागरिकलाई दस्तै मन्त्री र सांसदहरुलाई पनि दशैंले छोइसकेको छ ।

त्यसैले त अहिले मन्त्री, सांसदहरु दशैंको शुभकामना आदान प्रदानमा व्यस्त हुन थालेका छन् । तर, मन्त्री र सांसदहरुलाई आम नागरिकलाई जस्तो दशैं कसरी मनाउने र दशैंका लागि खर्चको जोहो कसरी गर्ने भन्ने चिन्ता उति छैन ।

सरकारले मन्त्री तथा सांसदहरुलाई दशैं खर्च उपलब्ध गराउने भएको छ । २०७६ भदौ ३१ मा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले मन्त्री, सांसदहरुलाई चाडवाड खर्चस्वरुप एक महिनाको तलब बराबरको रकम दिने प्रस्ताव पारित गरेको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको निर्णयप्रतिमा भनिएको छ, ‘उपप्रधानमन्त्री, मन्त्री, राज्यमन्त्री, सहायकमन्त्री, संघीय संसदका पदाधिकारी तथा सांसदहरुलाई एक महिनाको तलब बराबरको रकम चाडबाड खर्च उपलब्ध गराउइने छ ।’

मन्त्रिपरिषदको यो निर्णय सार्वजनिक गरिएको भने थिएन् । खुसुक्क निर्णय गरेर सुटुक्क मन्त्री र सांसदलाई दशैं खर्च उपलब्ध गराउन लागिएको हो । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले भने सार्वजनिक गरेका थिएनन् । गोप्य राखेका थिए ।

भदौ २६ र ३१ गते बसेको मन्त्रिपरिषद बैठकहरुबाट खुसुक्क मन्त्री, सांसदलाई दशैं खर्च दिइने निर्णय भए पनि यसलाई सार्वजनिक गरिएको थिएन् । सरकारको निर्णयअनुसार दशैं खर्च पाउनेहरुको सूचीमा संघीय संसदका पदाधिकारी समेत समावेश छन् । भदौ ३१ को निर्णयको बुँदा नं।२ ले भन्छ–उपप्रधानमन्त्री, मन्त्री, सांसदलाई चाडवाड खर्च दिइने छ ।

सरकारले ६ महिना सेवा पूरा गरेका मन्त्रीका सल्लाहकार तथा स्वकिय सचिवहरुलाई समेत दशैँ खर्च दिने भनेर निर्णय गरेको छ । उनीहरुको तलबमान बढाउने निर्णय समेत सरकारले गरेको छ । निर्णयअनुसार बढेको तलबमानअनुसार उनीहरुले दशैँ खर्च पाउने छन् ।

मन्त्रिपरिषदले सांसदहरुको तलब ६४ हजार ७० कायम गरी सोहीअनुसार दशैं खर्च दिन निर्णय गरेको हो ।