ताजा समाचार

भाद्र १९ गते २०७६

मुक्तिनाथमा हिउँ फुरूरू

२०७६ वैशाख २१ गते मातातीर्थ औसीका दिन अनेसास नेपाल तथा प्रज्ञा प्रतिष्ठानको आयोजनामा पोखरामा ‘नेपाली आख्यान साहित्यमा अनुदित कृतिहरु विषयक विचार गोष्ठी तथा कवि गोष्ठी’को आयोजना भएको थियो । त्यसैमा भाग लिन सरिता र गीता दिदी पनि काठमाडौँबाट आउनु भएको थियो । म दश दिन अघिदेखि नै पोखरा माइतीमा बसेकी थिएँ । मैले अनेसासको कार्यक्रममा सहभागिता जनाउने काम काठमाडौँबाट पोखरा आएका साथीहरुसँग मिसिएर गरेकी थिएँ ।

१९ गते बेलुका गीता दिदीले काठमाडाँैबाट फोन गरेर पोखराबाट मुक्तिनाथ जाने सोच बन्दै छ तपाई पनि जाने हो भने बाक्लो लुगा तथा जुत्ता तपाईको घरबाट ल्याईदिन्छु, यात्रा चार दिनको हो भन्नुभयो । पोखराको कार्यक्रम भ्याएर भोलिपल्ट २२ गते मुक्तिनाथ जाने कुरा गर्नु भएपछि मलाई पनि निकै खुसी लाग्यो । सानैदेखि मैले मुक्तिनाथका बारेमा सुनेकीले जाने उपयुक्त मौकाको खोजीमा थिएँ । ढुङ्गा खोज्दा देवता मिलेजस्तै लाग्यो मलाई गीता दिदीका कुराले । उहाँको घर र मेरो घर वनस्थली काठमाडौँमा छ सात मिनेटको दुरीमा मात्र भएकोले मेरो लुगाफाटो समेत बोकिदिन अनुरोध गरेँ । हुन त काठमाडाँँँँँँँँँँँैदेखि मुक्तिनाथको मन्दिरसम्मको दुरी ३७३ किलोमिटर मात्र हो । बाटो राम्रो हुने हो भने यो त्यति टाढा पनि त होइन मनमनै सोचेँ ।

काठमाडौँबाट यात्रु बोकेर पोखरासम्म आइपुग्न दिउँसोको एक बज्छ भनी मुक्तिनाथ जाने गाडीका भाइले भनेपछि हामी पोखराका प्रसिद्ध पत्रकार तथा उपन्यासकार बद्रीविनोद सरको कारबाट वेगनास ताल हेर्न गएका थियौँ । तालको अवलोकनपछि, वेगनासताल किनारको रेष्टुरेन्टमा लगेर सरले हामी तीन जनालाई तालको माछासँग भात खुवाउनु भएको थियो । खाना खाएपछि एक बजेतिर तालचोकबाट गाडी चढेका थियौँ ।

रातो स्कार्पियो कारभित्र म, गीता रेग्मी, सरिता अर्याल र तीन थाना कलंकीका एकै परिवारका चार सदस्य गरी ड्राइभर सहित आठजना यात्रु सवार थियौँ । हाम्रो गन्तव्य रहेको थियो प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ धामको दर्शन गर्नु र मुक्तिनाथ जाने बाटोका छेउछाउमा रहेका प्राकृतिक सौन्दर्यको रसपान गर्नु । हाम्रो गाडीमा सवार यात्रुमध्ये ७० वर्ष उमेर वरिपरिका दुई बूढाबूढी हुनुहँुदो रहेछ भन,े उहाँहरुका दुई वटी छोरीहरु चालीस र पचपन्न वर्षका हुनुहुन्थ्यो । गाडीले पोखरा बजार नाघेर विन्ध्यवासिनी मन्दिर पु¥यायो र गाडी मन्दिरको पश्चिमपट्टि मोडियो ।

पोखराको सराङ्कोट हुँदै नाउँडाँडासम्मको पीच बाटो सकिएपछि सुरु भयो, पीच नगरेको धुलौटे बाटो । उसो त पहिला बाग्लुङ–पोखरा राजमार्गका नाममा निकै सुन्दर बाटो बनेको थियो । २०५१ सालतिर म पृथ्वीनारायण क्याम्पस पढ्दा बनेको त्यो बाटोको निकै प्रशंसा पनि सुनेकी थिएँ र प्रत्यक्षदर्शी पनि थिएँ । तर समयसमयमा मर्मत सम्भारका कमीले होला अहिले करिब पच्चीस वर्षपछि राजमार्ग अवलोकन गर्दा पुरै भत्किएको र अस्तव्यस्त रुपमा पाएँ । पीच गरेको एक दुई वर्षमै बाटो भताभुङ्ग हुने हाम्रो देशमा पच्चीस वर्ष भनेको त निकै ठूलो अन्तराल थियो । गाडीमा बस्दा शरीर पुरै खन्द«याङखन्द«याङ प।र्ने खालको बाटो थियो । दुई वर्ष जापान बसेर एक महिना अघि मात्र नेपाल फर्किएकी मलाई हाम्रा बाटाघाटा देखेर निकै दिक्क लागिरहेको थियो ।

हामी नागरिकबाट राज्यले त्यति धेरै कर लिन्छ तर नागरिकले प्रयोग गर्ने न्यूनतम कुराहरुप्रति पनि सरकार किन उदासीन होला र यति धेरै खाल्डाखुल्डी पर्दा पनि कानमा तेल हालेर बसेको होला जस्तो लाग्यो । कास्कीको लुम्लेसम्म मात्र मैले यसभन्दा अघि यात्रा गरेकी थिएँ । समयका पदचापहरुसँग डोहोरिदाँ डोहोरिदाँ यतातिर आउने अवसर नै मिलिरहेको थिएन । पर्वत, म्याग्दी, बाग्लुङ र मुस्ताङ आज यी सबै नामका भूमिमा पहिलोपटक पाइला राख्न पाउँदै छु भनेर निकै उत्साही पनि भइरहेकी थिएँ

गाडीमा हुनु भएका वृद्ध बुबा–आमा पनि गाडीको उफ्राइबाट राम्रैसँग पीडित भए पनि मुक्तिनाथ धामको दर्शन गरेर जीवनबाटै मुक्ति पाउने आशामा खुसी देखिन्थे । बद«ीनाथ, केदारनाथ, पशुपतिनाथ र मुक्तिनाथको दर्शन नगरी भगवान्को दर्शनयात्रा पूरा नहुुुने जनविश्वासमा उनीहरुको पनि विश्वास थियो । गाडीभित्र रमाइलो ठट्टा गर्दै हामी गाडीमा हँुइकिरहेका थियौँ । छेउमै बगिरहेकी थिइन् कालीगण्डकी नदी । पानी नै कालो देखिने भएकाले यी काली गण्डकी नामले कहलिएकी रहिछन् । सेती र कालीका बारेमा सानैमा एउटा किंवदन्ती पनि सुनेकी थिएँ, शायद त्यही कारणले पनि यिनी काली भएकी होलिन् भन्ने लाग्यो । कालीगण्डकी तीरका ढुङ्गा पनि शालीग्राम कहलाउँछन् भनी लेखनाथ पौड्यालले लेखेको कवितांशको याद आयो । फर्केने बेला दुईचार वटा शालीग्राम बोकेर लैजानु पर्छ भन्ने सोचेँ ।

पोखराबाट यात्रा गरेको डेढ घण्टामा पुगियो कुश्मा, पर्वत । गाडीकै झ्यालबाट अवलोकन गर्ने काम भयो कुश्मा बजारलाई । फर्कदा यही झरेर नेपालकै अग्लो झोलुङ्गे पुल हेर्ने र खाना खाने कुरा गरे ड्राइभर भाइले । उनको कुरा सुनेर हामी मुसुक्क हाँस्दै धन्यवाद भन्न बिर्सेनौ । पोखराबाट पर्वत, म्याग्दी, बागलुङ टाढाका ठाउँ होइनन् तर पनि समय र परिस्थिति नमिलेपछि जीवनको चार दशक पछि मात्र यी भूमिसँग साक्षात्कार भएकी थिएँ । उत्साहको पखेटाले मन फुरुफुरु पार्दै दृश्यावलोकनमा आँखा बिछ्याइरहन्छु । राजमार्गको दायाँपट्टि छेउमा देख्छु गलेश्वर महादेवको मन्दिर । म्याग्दीको गलेश्वर धाम पवित्र धामका रुपमा लिइन्छ । पोखरातिरबाट गाडीका गाडी तीर्थयात्री गलेश्वर आएको सम्झिन्छु । ‘ल है यो पवित्र धाममा पस्नु पर्छ’ म हक्कानिदैँ बोल्छु । ‘अहिले भ्याइदैन फर्कदा है दिदी ?’ रवि भाइ बोल्छन्, ल उसो भए मुक्तिनाथको जल चढाउने फर्कदा, म भाकल राख्छु ।

गलेश्वर कटेको दश मिनेटमा गाडी रोकिन्छ । ‘तपाईहरु चिया खाजा खाँदै गर्नुस मैले गाडीमा यहाँ तेल पाइनँ कुश्मा नै पुग्नु पर्ने भयो तेल हाल्न’ रविले भने । बरु माथि गलेश्वरमै झर्न पाएको भए त मज्जाले दर्शन गरिन्थ्यो नि भन्दै हामी उनलाई पर्खिनु बाहेकको अरु विकल्प देखेनौँ । पुरै एक घण्टा लगाइदिन्छन् उनी । आजको हाम्रो गन्तव्य घासा झरनासम्म हो, हामी त्यहीको होटलमा बस्छौँ र भोलि मात्र मुक्तिनाथ पुग्छौ रवि भाइ जानकारी दिन्छन् । बेलुका आठ बजे मात्र घासा पुगिन्छ । नयाँ गन्तव्यका बारेमा केही थाहा नभएका हामी टाउको हल्लाउन बाहेक केही जान्दैनौ । हामीले यात्राका बारेमा राम्रो तयारी नगरेको कुरा यसबाट पनि झल्किन्छ, कहाँ बास बस्ने हो उनले कुन कुन ठाउँ घुमाउने हो त्यति धेरै जानकारी हामी तीनै दिदीबहिनीलाई छैन । फोनका भरमा मोटामोटी कुरा सुनेर हामी आएका थियौ ।

म्याग्दी जिल्लामा हाम्रो कार गुडिरहेको कुरा ठाउँ ठाउँमा देखिने साइनबोर्डले बताउँछ । बाटैमा देखिन्छ साइनबोर्डमा, म्याग्दीको प्रसिद्ध तातोपानी भन्ने ठाउँ । भित्र तातोपानीमा डुब्ने व्यवस्था रहेछ, सबैजना तातो पानीमा डुब्ने रहर गर्छौ । यहाँ पनि फर्कदा प्रयास गरौला भन्ने झिनो वाक्य सुनिन्छ तर पनि हामी आशावादी बन्छौँ थोरै भए पनि । बाटोको उबडखाबडले हामीलाई उत्तिकै हल्लाइ नै रहेको छ, हाँडीमा मकै पड्किएजसरी हामी गाडीमा हल्लिरहेका छौँ । पालैपालो ऐया, आम्मा, हे प्रभु भन्ने खालका शब्दहरु फुत्किन्छन् र घरिघरि समूहमा हामी गलल्ल हाँस्छौ पनि । बाटो अविच्छिन रुपमा धुलोमय छ । अगािडको गाडीले धुलो उडाँउदा पछाडिको गाडीलाई बाटो देख्न मुस्किल मुस्किल पर्छ र पनि अँध्यारोको साम्राज्य फैलिदै गएकोले धुलोको मुस्लो पनि अँध्यारोले नै निलिदिन्छ । बाटोको दुरावस्था र धुलोले आत्तिएको जस्तो लागेछ हामीलाई रवि भाइले भने, ‘तपाईहरु त यही बाटो देखेर आत्तिनु भयो क्या हो, यो बाटोको बाजे त आउँदै छ । ’

‘हँ नाति त यस्तो छ बाजे कस्तो होला ?’ हामी सबै हलुका डराए जस्ता भयौ । ‘डराउन पर्दैन तपाईहरु, आजसम्म मुक्तिनाथ गएको गाडी दुर्घटना प–यो भनेर सुन्नु भएको छ त ? एक पटक एउटा गाडी खोलाले बगाएको मात्र हो नत्र गाडी दुर्घटनामा परेको छैन । ढुक्क हुनुस, म आरामले पु–याउँछु यात्राको मजा लिनुस ।’ त्यसपछि भने ड्राइभरप्रति हामी अत्यन्तै भरोसा योग्य बन्यौ र रवि भाइले भनेझैँ यात्राको मजा लिन थाल्यौँ । बाहिर निस्पट्ट अँध्यारो भएकोले हामी दृश्यावलोकनबाट वञ्चित छौँ । ‘ल रुप्सेको झरना भनेको यही हो ।’ गाडीको धुमिल प्रकाशमा छङछङ बगेको झरना देखाउँछन् उनी । म विद्यालय पढ्दा कता कता किताबमा पढेको सम्झिन्छु, पोखराको पातले छाँगो, म्याग्दीको रुप्से झरना अत्यन्तै सुन्दर पर्यटकीय गन्तव्य हुन् भन्ने कुरा, यसलाई पनि पछि फर्कदा हेर्ने सूचीमा राखिन्छ । रुप्से झरना पछि करिब आधा घन्टापछि घासा भन्ने ठाउँको होटल ‘क्यासकेड’ भन्नेमा पुग्छौँ । थकाली होटल रहेछ । टीना गौचन बहिनी साहुनी रहिछिन् असाध्यै फरासिली, खाना उस्तै मीठो, होटलका सहयोगीहरु पनि मिलनसार र रसिला रहेछन् थपी थपी स्वाद लिएर खाना खाइयो । भोलिबिहान आठ बजे घासाबाट हिँड्ने सल्लाहमा हामी आ–आफ्ना कोठामा पुग्छौँ र थकाइले चुर भएका कारण सुतीहाल्ने सल्लाह गछौँ ।

डबल बेडमा सरिता दिदी र म सुत्छौँ । दिदी सुत्न नपाई लुटुक्क निदाउनु हुन्छ तर मलाई पटक्कै निन्द्रा लाग्दैन । ओल्टो फर्कन्छु, पोल्टो फर्कन्छुु अंह निन्द्रा आउने नामनिशाना देख्दिनँ । दिदीहरु गहिरोसँग निदाएको चाल पाउँछु तर थकाइ र ओछ्यान फेरिएका कारणले म रातभर आँखा चिम्म पनि पार्दिन । दिदीहरु ब्यूझेपछि भन्छु, “म त जागै छु ” “हो र म त गुन्द्रीमाथि पल्टिए पनि निदाउँछु” सरिता दिदी भन्नुहुन्छ । घासाबाट अगाडि बढेपछि प्राकृतिक सौन्दर्यले भरिएका दृश्यहरुको चाङ देखिन्छन् । हिमालपारिको जिल्ला भनेर चिनिने मुस्ताङ्को माछापुच्छ«े हिमाल, धवलागिरि र अन्नपूर्ण हिमालको पछाडिपट्टि फेदीमा छौँ हामी । सानो छँदा हरेक दिन आफ्नै घरको कौसीबाट माछापुच्छ«े र धवलागिरि हिमाल नियालेकी मैले आज यसको फेदीमा पुग्न पाउँदा असाध्यै गौरवान्दित महसुस गर्छु ।

लेते, मार्फा जस्ता ठाउँहरु बाटामा देखिन्छन् । बाटाका घरहरु सबै होटलका रूपमा परिचालित छन् । मार्फा स्याउका लागि प्रसिद्ध स्थान हो । पोखराका बजारहरू मार्फा स्याउले स्थान पाउने प्रमुख बजार हो । अत्यन्तै रसिलो र स्वादिलो हुने भएकोले मार्फा स्याउको माग बजारमा अत्यन्तै रहेको छ । स्याउका लोभलाग्दा बगैँचाहरु देखिन्छन् जाडोको मौसममा आइएको भए रातै स्याउ फलेको देख्न सकिन्थ्यो तर वैशाख महिना भएकोले हरिया बोटहरुमा सेता फूल फुलेका छन् । म रातै स्याउ फलेको बोटको कल्पना गर्छु र हर्षले मुस्कुराउँछु ।

‘काठमाडौँको जग्गा भन्दा यो जग्गा महङ्गो छ दिदी’ रवि भाइ भन्छन् । ‘
मलाई त सित्तैमा दिए पनि यो जग्गा चाहिँदैन ।’
‘सित्तैमा पाइदैन भनेर त भन्नु भा होला हैन दिदी ?’ रवि भाइ कलंकी घर हुने दिदीलाई व्यङ्ग्य गर्छन् । हामी यस्तै यस्तै गन्थन गर्दै अगाडि बढ्छौँ ।

प्रदूषितरहित सफा वातावरणले हामी अत्यन्तै आनन्दित बन्छौँ । छेउछेउमा रहेका रेष्टुरेन्टका नाम कोरला, लोमान्थाङ नामका देखिन्छन् । ‘उपल्लो मुस्ताङ जान पाए पनि हुने है कस्तो छ बाटो ?’ रवि भाइलाई सोध्छु । ‘यो बाटो भन्दा राम्रो छ उपल्लो मुस्ताङ जाने बाटो । मुक्तिनाथबाट एक दिनको बाटो लाग्छ’ उनी भन्छन् । नेपाल सानो छ भन्छन् कसरी सानो भयो र हिमाल पारि पनि हामी यति पर पर आइसक्यौ, अझ एक दिन गाडीमा कुदेर उपल्लो मुस्ताङ जाने भनेपछि नेपाललाई सानो भन्न मिल्ला र जस्तो लाग्यो । क्षेत्रफलका आधारमा मात्र सानो राष्ट्र भन्नु के तुक रह्यो र सुन्दरताले यति धनी भएपछि भनेजस्तो लाग्यो ।

बिहे नभइन्जेल हरेक दिन माइतीघरको कौसीबाट माछापुच्छ«े र धवलागिरिको सेताम्य चुचुरो देख्थे । आज त्यसैको पिठ्युबाट पो हामी हिडिरहेको रहेछौँ । हिमाललाई यति नजिकबाट हेर्ने मौका कहाँ मिलेको थियो र ? अति नै अचम्म लाग्यो, आँखाअगाडि चाँदीजस्तै टल्किएका हिमश्रृङ्खलाको लहर पाउँदा । गाडीभित्रैबाट भिडियो र फोटो खिच्दै अगाडि बढिरहेका थियौँ । फाट्टफुट्ट बजार आउँदै जाँदै गरिरहेका थिए, ठाउँ ठाउँमा बिहेको जमघट पनि देखिन्थ्यो । जब आकाशको तल तल विमान उडेको देख्यौँ लाग्यो जोमसोम विमानस्थल नजिक आइएछ । बुद्ध एयरको विमान धावनमार्गमा रोकिएको देख्यौँ । विमानस्थल अगाडि नै देख्यौँ बज्रदल गणको ब्यारेक पनि । गेटमा सैनिकहरु तैनाथ थिए राष्ट्रको सेवा गर्न खटिएका सैनिकहरु के दुर्गम के सुगम आफ्नो कर्तव्यपथमा अडिग थिए । जोमसोम बजार कटेपछि ठूलो बगर आयो ।

चल्तीको बाटोमा डोजरले मर्मत गरिरहेको हुनाले हाम्रो गाडी पनि बगरै बगर कुद्न थाल्यो । अत्यन्तै हावा चलेको महसुस ग¥यौ । नेपथ्य व्याण्डका अमृत गुरुङले गाएको र स्वर्गीय रविन्द्र अधिकारीको शब्द रहेको ‘जोमसोमै बजारमा बाह्र बजे हावा सरर भन्ने गीत सम्झिएँ ।’ यो बगरमा झरेर हावाको गति महसुस गर्न मन लाग्यो । रवि भाइलाई एकछिन गाडी रोक्न लगायौ र गाडीबाट झरेर भिडियो र फोटो खिच्न लाग्यौँ । पत्रकारिता क्षेत्रमा पनि काम गरेकी सरिता दिदी फोटो खिच्न सिपालु हुनुहँुदो रहेछ । मिलाएर फोटो खिचिदिनु भयो । हावाको गति नाप्न हामीले हाम्रा सलहरु फिजा¥यौँ । ठूलो आवाज निकालेर हावा बहदाँ हाम्रा सलहरु उडाउन लागे । ‘ऊ माथि कागबेनी हो दिदी, बुबा–आमाले सराद्धे गर्नुहुन्छ त्यही फोटो खिच्नुहोला एकछिन’ भनेर ड्राइभर भाइले भनेपछि हामी बच्चाजस्तै ज्ञानी बनेर हस् भन्दै गाडीमा चढ्यौँ ।

पन्ध्र मिनेट पछि नै पशुपतिमा देखिने पण्डित बाजेको लर्को जस्तै त्यहाँ पनि देखिन थाल्यो । रामनामी ओडेको पण्डित बाजे नयाँ गाडी देख्नेबित्तिकै सराद्धे गर्ने व्यक्ति छन् कि भनेर चियाउँदा रहेछन् । कलंकीबाट गएका सत्तरी वर्षे बुबा–आमा र उनका छोरीहरु सराद्धेमा सरिक भए । यसैक्रममा मैले पोखरेली युवा साँस्कृतिक परिवारका वर्तमान अध्यक्ष प्रकाश ज्ञवाली भाइलाई भेटेँ । हिजो पनि उहाँ तालबाराही मन्दिरमा भेटिनु भएको थियो । उहाँकी आमा र बहिनीसँग पनि परिचय भयो । एकछिन कागबेनी वरपरको फोटो खिच्यौँ । वरिपरि शालीग्राम बेच्नेहरु पनि थिए, चिनोको लागि दुईचार वटा किन्यौ र पुन मुक्तिनाथका लागि रमाना भयौँ । टाढाको बाटो, खाली पेट त आउन सकिदैन भनेर हामीले बिहान घासाको होटलमा नै पुरी र तरकारी खाएर आएका थियौँ । अब मुक्तिनाथको फेदीको होटलमा खाना खाएर मात्र मन्दिर उक्लने तय भएको थियो ।

टाढाको भक्तजनको अवस्था भगवान्लाई पनि अवगत हुन्छ खाना नखाई माथि उक्लन सकिदैन भन्नेमा सबैको एक मत भयो । खाना खाएपछि एकछिन पर्यावरण नियाल्ने काम भयो । चारैतिर घाम लागेकोले त्यति जाडोे भने थिएन तैपनि हामीले जकेट भने लगाएका थियौँ । गीता दिदी र बूढी आमा मात्र घोडा चढेर माथि उक्लने कुरा भएको थियो तर सरिता दिदीले त मलाई र उहाँलाई पनि ल्याउनु भएछ । हामी त हिँडेर जान सकिहालिन्छ जस्तो लागेको थियो तैपनि घोडा बोलाएर ल्याइसक्नु भएपछि आन्तरिक पर्यटनलाई सघाउन भए पनि मैले घोडा चढ्ने निधो गरेँ । सुरुमा त मलाई घोडा चढ्दा साह्रै नै डर लाग्यो । पुर्लङ्ग लडिएला जस्तो लाग्यो तर बूढाबूढी त चढेका छन् भने म कसो नसकूँला र भनेर साहस जुटाएँ । घोडा डो¥याउने भाइले पनि निकै सहयोग गरे । दिदी उकालो आउँदा निहुरी पर्नु, ओरालो झर्दा ठाडो पर्नु अनि बेसरी यो डोरी समाउनु केही डराउनु पर्दैन भनेर ढाडस दिए । जब घोडा घट्घट् गरेर हिँड्न थाल्यो । कता पल्टिन्छु कि झैँ गरेर मन ढक्क फुल्यो । चलचित्रमा नायिकाहरुले घोडा कुदाएको सम्झेँ, अगाडि सरिता दिदी र गीता दिदी नडराई चढेको देखेपछि मलाई पनि साहस आयो अनि मन दरो बनाएँ त्यसपछि भने मलाई खासै डर लागेन । घाँस, मकै र चना मात्रै खाएर पनि यति बलियो घोडाको अवस्था देख्दा मान्छे बलियो हुनलाई मासु नै खान पर्दो रहेनछ जस्तो लाग्यो ।

दश, बाह्र मिनेट घोडा चढेपछि घोडाबाट उत्रने ठाउँ आयो, मैले तीन सय रुपैया घोडाको सइसलाई दिएँ र मुक्तिनाथ धामका सिँडीतिर पाइला अघि बढाएँ । अब दश मिनेट पैदल नहिँडी सुख नपाइने सिँडी थियो । उकालो उक्लदाँ दम बढेर स्वाँस्वाँ भएको थियो । उकालो हिँड्ने बानी नभएकोले यस्तो भएको थियो । शरीर भन्ने कुरा एउटा रबर जस्तै रहेछ जसरी तन्काउन सकिन्छ त्यसरी नै तन्किदो रहेछ भन्ने कुरालाई प्रमाणित गरेर जापानबाट आएकी थिएँ । पुरै समय उभिएर दिनको चौध घण्टासम्म मैले त्यहाँ काम गरेकी थिएँ । सुरु सुरुका दिन चार घण्टा उभिएर काम गर्न नसक्ने मैले पछि बानी पार्दै लगेर कुनै कुनै दिन चौध घण्टासम्म काम गरेकी थिएँ । जीवनकै गर्वयोग्य समय बनाउँछु भनेर म जापानको घडी अनुसार सेकेन्ड सेकन्ड चलेकी थिएँ । तिनै अविस्मरणीय पलहरु सम्झदैँ म अहिले मुक्तिनाथको मन्दिर पुग्न मुख बन्द गर्दै उक्लिरहेँ ।

वरिपरि हिमालैहिमालको अजीव भूगोल थियो । घाम लागेकोले होला हिउँ त्यति फुरुरु भएको थिएन । गहिरोमा मुक्तिनाथ देवता मुस्कुराईरहेका थिए । बाल्यकालदेखि फोटोमा देखिरहेको मन्दिर र मन्दिरभित्रका देवतासँग अझ प्रत्यक्ष साक्षात्कार गरिदैँ थियो । शारीरिक हिसाबले सरिता, गीता र म तीनै जना मोटा मोटा नै थियौँ । सुईसुई सुस्केरा हाल्दै बल्लतल्ल मन्दिरमा पुग्यौ । मन्दिरको माथिल्लो भागमा उक्लने बित्तिकै देख्यौ डुबुल्की मार्ने पानीको तलाउ, तलाउको पूर्वपट्टि मुक्तिनाथको मन्दिर र मन्दिर पछाडिपट्टि एक सय आठ जलधारा । सर्वप्रथम सरिता दिदीले र मैले पेटीकोट मात्र लगाएर एक सय आठ धारामा थापियौँ । हिउँ पग्लेर आएको पानी हुनाले चिसो न चिसो थियो । छिटो छिटो दौडेर नुहाउने कार्य सम्पन्न ग¥यौँ ।

पानी अति नै चिसो भएकाले नुहाउन सकिन्न कि भनेर द्धिविधामा रहनुभएकी गीता दिदी पनि नुहाउन तम्सिनु भयो । नुहाइधवाइको काम सकेपछि बल्ल हामी मन्दिरभित्र पूजाअर्चनाका लागि तयार भयौँ । ब्राहमण पुजारीले पूजा गर्ने र बौद्ध भिक्षुणीले प्रसाद दिने कुरा पढेकी भए पनि हामी मन्दिरमा पुग्दा भने बौद्ध भिक्षुणी मात्रै थिइन् । हाम्रा पूmल, प्रसाद मूर्तिलाई छुवाएर प्रसादको झोला र्फिता दिइन् र चाँदीको आरी जस्तो भाँडोले टाउकोमा टोपी लाएझै गरिन् । अगरबत्ती बाहिरै बाली एक सय आठ धाराबाट जल लिएर मन्दिर परिसरबाट बाहिरिन थाल्यौ । साह्रै सौम्य र सुन्दर थियो मन्दिरको वातावरण ।

नेपालका पूर्व र पश्चिमदेखिका झक्तजनको ओइरो लागेको थियो । हुन त उन्चालिस सय मिटर अग्लोमा मात्र थियौँ तैपनि वाकवाक होलाजस्तो, टाउको दुखेजस्तो भइरहेको थियो । राति राम्ररी निन्द्रा नपरेर पनि हो कि । लेक लागेको भनेको यही हो कि जस्तो लाग्यो । झोलामा लसुन, टिमुर र अदुवाका टुक्रा हालेपनि झिकेर खाइहालेकी थिइनँ, रवि भाइले मुक्तिनाथकै फेदीको होटलमा आज बस्ने भने पनि बाटोे पनि छोट्टिने र लेक पनि कम लाग्ने हुनाले हिजो बास बसेको घासाको होटलमा फर्कने सल्लाह ग¥यौँ र बिस्तारै बिस्तारै हाम्रा पाइला तल झा¥यौँ।

source : समकालीन साहित्य


Loading...