ताजा समाचार

श्रावण २३ गते २०७६

पूर्वराजा ज्ञानेन्द्र भोलि थाइल्याण्ड जाँदै, दशैंमा मात्र फर्किने ?

पूर्वराजा ज्ञानेन्द्र शाह थाइल्याण्ड जाने भएका छन् ।  देशको पछिल्लो राजनीतिक घटनाक्रमबारे चासो राख्दै आएका पूर्वराजा ज्ञानेन्द्र निजी सचिव सागर तिमल्सिनाका साथ भोलि साउन २४ गते शुक्रबार थाइल्याण्डको बैङ्कक जान लागेका हुन् । 

उनको यो भ्रमण पारिवारिक रहेको निर्मल निवास स्रोतले जनाएको छ । विभिन्न सामाजिक सञ्जालमा पूर्वराजवादीले राजा फर्कने अफवाह चलाइरहेको बेला उनी थाइल्याण्ड जान लागेका हुन् । 

उनी त्यहाँ पुगेको केही दिनपछि पूर्वरानी कोमल पनि थाइल्याण्ड जाने कार्यक्रम रहेको छ । पूर्वयुवराज्ञी हिमानी शाह बुधबार दुई छोरी पूर्णिका र कीर्तिकासँगै थाइल्याण्ड गएकी छिन्  । अधिकांश भ्रमणमा पूर्वराजा ज्ञानेन्द्र, कोमल र हिमानी सँगसँगै निस्कने गरेका छन् । 

दशैँको केही दिनअघि मात्र फर्कने गरी पूर्वराजाको परिवार थाइल्याण्ड जान लागेको हो ।

करिब ३ साता लामो भ्रमणको मिति तय गरी थाइल्याण्ड जान लागेका ज्ञानेन्द्र थाइल्याण्डलाई ट्रान्जिट बनाएर विभिन्न मुलुक भ्रमण गर्ने तयारी गरेका छन् ।