महाधिवेशनको तयारीमा जुट्यो राप्रपा नेपाल

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी जेठमा केन्द्रीय महाधिवेशन गर्ने भएको छ ।

पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी माघ महीनाबाट स्थानीय तहदेखिका परिषद् बैठकको आयोजना र महाधिवेशन प्रतिनिधिको निर्वाचन प्रारम्भ गर्ने निर्णय गरेको छ ।

समान विचारधारा भएका दलहरुबीच एकता गर्ने राप्रपा (संयुक्त) को निर्णयलाई पार्टीले स्वागत गर्दै देशमा बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको निर्माण गर्न एकता प्रक्रियामा आउन राप्रपा (संयुक्त) र अन्य दललाई बैठकले आग्रह गरेको छ ।

पार्टीले सरकार समक्ष बुझाएको २२ बुँदे माग पूरा गराउन सरकारसँग चाँडो दोस्रो चरणको वार्ता गरिने जनाइएको छ ।

बैठकले संगठन निर्माण वर्ष २०७६ कार्ययोजना पारित गर्दै भ्रातृ संगठनको अधिवेशन आउँदो वैशाखभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

यही साउन २४ र २५ गते केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम आयोजना गर्ने, भदौ महीनाभित्र सम्पूर्ण जिल्लामा जिल्लास्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्ने, विसं २०७७ असोजभित्र सबै गाउँपालिका र नगरपालिकामा प्रशिक्षण कार्यक्रम आयोजना गर्ने निर्णय बैठकले गरेको छ ।

सक्रिय सदस्य वितरण कार्यलाई अभियानका रुपमा सञ्चालन गरिने बताइएको छ । चतराधाम–त्रिवेणी हिन्दूराष्ट्र पुनःस्थापना संकल्पयात्रा आगामी आउँदो मङ्सिरको अन्तिम हप्तामा प्रारम्भ गर्ने निर्णय गरेको छ ।