गण्डकी प्रदेश प्रमुख कुँवर महाआरतीमा

गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर सोमबार पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेवको पूजा एवं महाआरतीमा सहभागी भए ।

उनले गुफास्थित महादेव मन्दिरमा विधिपूर्वक पूजा गर्नुका साथै साँझमा भएको महाआरतीमा मुख्य कर्ताको रुपमा सहभागी भएका हुन् । अवसरमा कुँवरलाई मन्दिरका पुजारीद्वय तारानाथ आचार्य र गोकुल अधिकारीका साथै बटुकहरुले पूजा गराएका थिए ।

प्रदेश प्रमुख कुँवरको स्वागतका लागि समितिका कार्यवाहक अध्यक्ष गोपाल बराल, उपाध्यक्ष ईश्वरी प्रसाद लम्साल, सचिव हरि लम्साल, पूजा समिति संयोजक सीता बराल लगायतले स्वागत गरेका थिए । गुफामा साउन महिनाको हरेक सोमबार दर्शनार्थीको भिड लाग्छ भने शिवरात्रीका बेला विशेष मेला लाग्ने गर्दछ ।

गुफाले हरेक सोमबार साँझ साँढे ६ वजेबाट गर्दै आएको महाआरतीमा भक्तजनहरुको उल्लेख्य सहभागी हुँदै आएको र कर्ता हुन चाहनेले नामदर्ता गरी आरतीमा सरिक हुँदै आएका कार्यालय प्रमुख नारायण पौडेलले बताए ।

गुप्तेश्वर महादेव गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला संचालन हुँदै आएको उपाध्यक्ष इश्वरी प्रसाद लम्सालले जानकारी दिए ।