ताजा समाचार

श्रावण १३ गते २०७६

मुख्य न्यायाधीशत्रय सुवेदी, चुडाल र पोखरेलको सरुवा, को कहाँ पुगे ?

उच्च अदालत तुलसीपुर दाङका मुख्य न्यायाधीश नहकुल सुवेदीलाई उच्च अदालत पाटनमा सरुवा गरिएको छ । आइतबार साँझ बसेको न्याय परिषद्को बैठकले सुवेदीलाई उच्च अदालत पाटनमा सरुवा गरेको हो । 

यता उच्च अदालत पाटनका मुख्य न्यायाधीश कुमार चुडाललाई भने उच्च अदालत सुर्खेतमा सरुवा गरिएको छ । चुडाललाई मुख्य न्यायाधीशकै रुपमा उच्च अदालत सुर्खेत पठाइएको हो । 

नहकुल सुवेदीको सरुवा भएपछि उच्च अदालत तुलसीपुर, दाङमा भने उच्च अदालत सर्खेतका मुख्य न्यायाधीश रमेश पोखरेललाई ल्याइएको छ ।

न्याय परिषद्का अनुसार परिषद्ले नियमित सरुवाका क्रममा मुख्य न्यायाधीशहरुको सरुवा गरेको हो । 

उच्च अदालत पाटनका मुख्य न्यायाधीश चुडालले पिएचडी अध्ययनका लागि मुद्दाको चाप कम हुने उच्च अदालत माग गरेपछि उनलाई उच्च अदालत सुर्खेत पठाइएको हो । 

यता मुद्दाको चाप बढी हुने उच्च अदालत पाटनको जिम्मेवारी भने लामो समय सर्वोच्च अदालतमै काम गरिसकेका मुख्य न्यायाधीश नहकुल सुवेदीले लिएका छन् । 

सुवदी सर्वोच्च अदालतमा मुख्य रजिष्ट्रार रहेकै समय उच्च अदालत तुलसीपुर दाङमा मुख्य न्यायाधीश नियुक्त भएका थिए ।