ताजा समाचार

श्रावण १२ गते २०७६

१ सय १७ जनाको मृत्यु, ३८ जना बेपत्ता !

मनसुन सक्रिय भएसँगै गत असार र साउन पहिलो साता परेको वर्षापछि आएको बाढीपहिरोमा परेका ३८ जना अझै बेपत्ता छन् । बाढीपहिरो र डुबानमा परी आइतबारसम्म १ सय १७ जनाले ज्यान गुमाएका छन् ।

२ दिनयता ४ जनाको मृत्यु भएको गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका प्रमुख वेदनिधि खनालले जानकारी दिए । यस अवधिमा ४ सय १४ विपद्का घटना भएका छन् ।
विपद्मा परी ८० जना घाइते भएका थिए ।

अधिकांश घाइते उपचारपछि घर फर्किएका छन् । केन्द्रले सार्वजनिक गरेको तथ्यांकअनुसार बाढीको १ सय ३४, पहिरोको २ सय २७ र भारी वर्षाको कारण ५३ घट्ना भएका छन् । बाढीबाट ६१, पहिरोबाट ४७ र भारी वर्षाका कारण नौ जनाले ज्यान गुमाएका छन् । बाढीबाट २९ र पहिरोबाट ९ जना हराइरहेको खनालले बताए ।

अहिलेसम्म रु १ अर्ब ७ करोडभन्दा बढीको क्षति भएको छ । बाढी र डुबानबाट सबैभन्दा बढी रौतहटमा १० जनाको मृत्यु भएको छ ।

पहिरोबाट सबैभन्दा बढी गुल्मीमा १४ जनाको ज्यान गएको छ । डोल्पामा ७ जना हराइरहेका छन् । गत असारको २६ देखि ३० गतेसम्म तथा साउनको ७ र ८ गते बाढी, पहिरो र डुबानका घट्ना भएका थिए ।

विपद्बाट ९० हजारभन्दा बढी परिवार प्रभावित भएका थिए भने २२ हजार ६ सय ७० परिवार विस्थापित भएको केन्द्रले जनाएको छ ।

खनालका अनुसार विभिन्न ठाउँमा राहत वितरणसँगै सडक र तटबन्ध भत्किएको क्षेत्रमा पुनःनिर्माणको काम जारी छ ।