ताजा समाचार

श्रावण ११ गते २०७६

फुटबल एकेडेमी चलाउँदै डेविड फल युथ क्लब

जिल्लास्तरीय लिगकम नकाउट फुटबलको तयारीमा रहेको पोखरा–१७ छोरेपाटनस्थित डेविडफल युवा क्लबले अब आफैंले भविष्यमा दरिलो टोली बनाउने योजनासहित युवा लक्षित फुटबल प्रशिक्षण शुरु गर्ने तयारी गरेको छ । क्लबका अनुसार विभिन्न उमेर समूहका खेलाडीलाई राखेर एकेडेमी नै सञ्चालन गर्ने लक्ष्य लिएको छ ।

क्लबले अहिले २० जनालाई फुटबल प्रशिक्षण दिदैं आएको छ । क्लबका अध्यक्ष पुष्प बरालले उमेर समूहका खेलाडीलाई प्रशिक्षण दिई एकेडेमीको रुपमा स्थापित गर्ने योजना रहेको बताए । ‘अहिले क्लबले एकेडेमीको रुपमा फुटबल प्रशिक्षण शुरु गर्ने छ ’ उनले भने–‘एकसातापछि प्रशिक्षण शुरु गरिने छ । खेलाडीको नाम दर्ता संकलन गरिरहेका छौं ।’ उनका अनुसार अहिले विभिन्न उमेर समूहका २० जना खेलाडी प्रशिक्षणरत छन् । अहिले ८ देखि १६ वर्ष उमेर समूहका बालखेलाडीहरु प्रशिक्षणरत छन् ।

क्लबले एकेडेमीको लागि जर्सी समेत तयार गरेको छ । क्लबले शनिबार छलफल गर्दै वार्षिक कार्ययोजना सार्वजनिक गर्दै पहिलो प्राथमिकतामा एकेडेमी सञ्चालनलाई राखेको हो । अध्यक्ष बरालका अनुसार फुटवल ट्रेनिङ एकेडेमी ,बार्षिक एक टुर्नामेन्ट, वार्षिक रुपमा सांगितीक कार्यक्रम, गुप्तेश्वर गुफा र छोरेपाटन उच्च मावीको स्वामीत्वमा रहेको पार्किङ जग्गालाइ व्यवस्थित गरी सन्चालन गर्ने लगायतका निर्णय गरिएको छ ।

क्लबले छोरेपाटनस्थित तिब्बतीय शरणार्थी क्याम्पको मैदानमा फुटबल प्रशिक्षण गराउँदैं आएको छ । ‘तिब्बतीय क्याम्पमै प्रशिक्षण गराउने निर्णय गरेका छौं ।’ उनले भने–‘एकेडेमी शुरु गरिएपछि सहयोगी दातासँगै वडालाई पनि सहयोगको लागि अपिल गरिने छ ।’ क्लबले सञ्चालन गर्दै आएको एम्बुलेन्सलाई शव बाहन बनाउने जनाउँदै नयाँ एम्बुलेन्स खरीद गर्ने निर्णय समेत गरिएको छ । फुस्रे खोला किनारमा ह्याङगिङ गार्डेन बनाउने योजना समेत क्लबले लिएको छ ।

पोखरा महानगरपालिका–१७का वडाध्यक्ष तीर्थराज अधिकारीले क्लबले ल्याएको योजनाको प्रशंसा गर्दै कार्यान्वयनमा जोड दिए । उनले योजनाहरुलाई प्राथमिकीकरण गर्दै सम्पन्न गर्नुपर्नेमा क्लबलाई ध्यानाकर्षण गराए । कार्यक्रममा पोखरा उद्योग बाणीज्य संघका महासचिव अर्जुन पोख्रेलले क्लवको योजनाले छिमेकी वडाहरु पनि जोडिनुपर्ने भन्दै दीर्घकालीन योजनाहरुलाइ प्राथमिकता दिन आग्रह गरे ।

कार्यक्रममा सल्लाहकार झपिन्द्रराज रेग्मी, गोपाल बराल, युवक लामीछाने, प्रकाश बराल, माधव रेग्मी , श्रीराम सुवेदी , चुडामडी बराल, तिलक आचार्य , गोपी बराल, रविन गुरुङ र कुमार गुरुङ लगाएतले क्लबका योजनाको प्रशंसा गर्दै कार्यान्वयनमा गम्भीर बन्न आग्रह गरेका थिए ।

सोही अवसरमा डेभिडफ क्षेत्रलाइ वाइफाइ जोन बनाउनका लागी ओल्र्डलिंक कम्युनिकेशन राष्टबैकका म्यानेजर हेमन्त शर्मा र डेभिज फल क्लवका अध्यक्ष पुष्प बराल बीच सम्झौता समेत गरिएको थियो ।

kheladinews.com