फेसबुकमा रोइकराइ गर्नु जागरुक बन्नु होइन

परपीडन नेपाली समाजको बिशेष सामाजिक चरित्र बन्दै जानु दु:खद छ । नेपाली जनता सचेत हैनन् , ती पक्षधर छन् । जागरूकताको अभाव छ, जसका कारण जहिले पनि अरूको मात्र दोष देख्छन् । जागरूक नभए पछि जिम्मेवारी बोध गर्न सक्दैनन् र दु:खी जीवन निम्त्याई रहेका हुन्छन् ।

मलाई लाग्छ कुनै राजनीतिक दललाई समात्नु, दलको समर्थन गर्नु, कार्यकर्ता वा नेता बन्नु, दलमा लाग्नु वा आस्था अपनाउनु… यी कुनै नियोजित बौद्धिक तार्किक चुनाव हैन, यो भाईरल संक्रमण मात्र हो । बस जे लाग्यो लाग्यो, किन कसरी लाग्यो ? त्यसको अर्थ हुदैन । यो भाईरल अट्याक अधिकॉशमा जीवनपर्यन्त रहन्छ र त्यो रोगको लाभहानी बेहोरिरहनु पर्छ । जो अट्याकबाट मुक्त हुन्छन्, ती संक्रमित हुनेलाई सराप्दै आफू निश्चिन्त जीवन मजाले जिउछन् ।

तपाईको दिमागमा भएको ऐना जस्तो छ, त्यस्तै देखिन्छ यो दुनियॉ! कन्केभ र कन्भेक्स लेन्सले कुनै पनि वस्तु वा विचारलाई लघुरंजना र अतिरंजना गर्छ। प्लेन ऐनाले मात्र यथार्थ रूप जे जस्तो छ त्यही देखाउछ । अध्यात्मिक साधना भनेको दिमागमा प्लेन लेन्स जडान गर्नु नै हो, कुनै पूर्वाग्रह वा अति-वा लघु-रूपबाट मुक्त हुन हो । सबैले बुझेकै हुन्छन्, कसैले कसैलाई सुधार्न वा परिवर्तन वा रूपान्तरण गर्न सक्दैन, मान्छे आफैले आफैलाई परिवर्तन गर्ने हो। तैपनि मानिसहरू अरूलाई उपदेश सुझाव वा सल्लाह दिईरहन्छन् वा आलोचना गरिरहन्छन् , किन होला?

यसको मूख्य मानवीय कारण हो- मान्छे आशावादी प्राणी हो, उसको मनले कताकता भन्छ र उसलाई लाग्छ कि उसको सल्लाहले वा आलोचनाले गर्दा कहीं कतै अरू सुध्रिहाल्लान् कि! सदगुरू भन्नुहुन्छ- पूर्वाग्रह बिष हो, जो सानै उमेरमा परिवार, समाज र धर्मले हामीलाई पिलाएको हुन्छ । नेपालका कथित जागरूक जनता भनेका राजनीतिक नशाले चूर भएका मात्र हुने गरेका छन्,

जसलाई आफ्नो पक्षधरको अन्ध समर्थन र विरोधीको अन्ध विरोध गर्ने गराउने जिम्मेवारी हुने गर्छ । साच्चै भनौं भने नेपालका जनता आफ्नो हक अधिकार र कर्तव्यप्रति रत्ति जागरूकता वा चेतना भएको पाईदैन/छैनन् । सोसल मिडियामा रोईकराई गरेको देखेर जागरूक छन् भन्ने भ्रम पाल्नु अर्को भ्रम हो ।