महिनौं अघिदेखि बज्न थाल्छन् तीजगीत । सुरु भइसकेको छ किनमेलको जोहो, पार्टी प्यालेस र होटलहरु पनि बुकिङ भइरहेका छन् । कतिपय संघ, संस्थाले त टिकटै छापेर किन्न लगाएर भोज गर्ने गरेका छन् ।
यसले बताउँछ तीज भड्किलो, खर्चिलो र आधुनिक भोजभतेर जस्तो बन्दै छ । दाजुभाइ, बाआमाले बोलाएर मीठो, मसिनो ख्वाउने, छोरी, दिदीबहिनीका दुःखसुख सुन्ने, आत्मीयता बढाउने पर्व हो तीज । पुराना तीजका भाकामा पनि चेलीका वेदना र विभिन्न कारुणि गाथाहरु पाइन्छन् ।
तीजलाई मौलिक एवं परम्परागत रुपमा मनाउनुपर्छ भनी पोखराका अधिकारकर्मीहरुले आवाज उठाएका छन् । नारी जागरण अभियान कास्कीले यस्तो खर्चिलो, भड्किलो र पर्व आउनुभन्दा महिनौं दिनअघिबाटको तडकभडक रोक्न माग गर्दै गण्डकीका मुख्यमन्त्री, पोखरा महानगरका मेयर र जिल्ला प्रशासन कार्यालय कास्कीका प्रमुख जिल्ला अधिकारीलाई ध्यानाकर्षण पत्र बुझाइसकेको छ ।

बिहीबार कास्की प्रशासनले सूचना निकालेर हरितालिका तीजमा तडकभडक, ध्वनि प्रदूषण र फजुल खर्च गरी समाजको सहनशीलता र मौलिक परम्परा विपरीत गतिविधि गर्नेलाई कारवाही गर्ने जनाएको छ । टिकट छापेर पार्टी खाने, होटलमा सांगीतिक कार्यक्रम गर्ने, गहना प्रदर्शन, भोजभतेर गर्ने गर्दा हिन्दू नारीहरुको पर्वको मौलिकतामाथि नै प्रश्न उठेकाले यस्ता गतिविधि गर्नेहरुलाई कारवाही गरिने प्रशासकीय अधिकृत कृष्णप्रसाद पौडेलले बताए । जिल्ला प्रशासनले पनि यस्ता गतिविधिको सूक्ष्म निरीक्षण गर्ने जनाएको छ ।
नारी जागरण अभियान कास्की संयोजक अञ्जु क्षेत्री चाडपर्वहरु सांस्कृतिक एवं मौलिक रुपमा मनाउनुपर्नेमा जोड दिन्छिन् । उनले चाडपर्व आत्मीयता साट्ने, सुखदुख बाड्ने, आफन्त भेटघाट गर्ने माध्यम भएको बताउँदै सभ्य र एक्काइसौं शताब्दिको समाजका लागि यस्तो तडकभडक सुहाउँदो नभएको उनले बताइन् । उनले अभियानमा साथ दिन र सबै चाडपर्वलाई आफ्नो हैसियत र परम्परा अनुसार मनाउन पनि अनुरोध गरेकी छन् ।






