हेलिकप्टरबाट खाद्यान्न

उदयपुर जिल्लाको ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा भएको खाद्यान्न संकट न्यूनीकरण गर्न राहतस्वरुप बिहीबार खाद्यान्न सामग्री पठाइएको छ ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश १ को राजधानी विराटनगरबाट खाद्यान्न पठाएको हो ।

गृह मन्त्रालयले उपलब्ध गराएको नेपाली सेनाको हेलिकप्टरबाट दिउँसो विराटनगर विमानस्थलबाट खाद्यान्न ओसारिएको छ । बाढी पहिरोका कारण ताप्ली र लिम्चुङबुङ गाउँपालिकालाई जोड्ने सडकहरु अवरुद्ध भएका कारण सडकमार्गबाट त्यहाँ खाद्यान्न ढुवानी हुन नसकेपछि उत्पन्न भएको खाद्यान्न संकट न्युनिकरण गर्न हेलिकप्टरबाट खाद्यान्न पठाइएको हो ।

बाढीपहिरोका कारण अवस्था जटिल भएपछि लिम्चुङबुङ गाउँ कार्यपालिकाले गत असार ३१ गते गाउँपालिकालाई संकटग्रस्त घोषणा गरेको थियो ।

दुवै गाउँपालिकाहरुले खाद्यान्नको संकट सृजना भएको जानकारी गराएपछि आकस्मिकरुपमा बसेको प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकबाट ती क्षेत्रमा राहतस्वरुप खाद्यान्न पठाउने निर्णय भएको प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिए ।

७ दिनकालागि आवश्यक पर्ने ७ सय क्वीन्टल चामल तथा अन्य खाद्यान्नको व्यवस्थापन गरिएको मन्त्रालयका निमित्त सचिव कमलबहादुर थापाले जानकारी दिए ।

ती सामग्री मध्ये बिहीबार हेलिकप्टरको चार पटकको उडानबाट ८० क्वीन्टल चामल, २० क्वीन्टल दाल, ५ सय किलो नुन र ५ सय लिटर खाने तेल पठाइएको उनले बताए ।

उदयपुर सदरमुकाम गाईघाटबाट ७५ किलोमिटर बढी दुरीमा रहेको लिम्चुङबुङ गाउँपालिकालाई जोड्ने सबै बाटाहरु अवरुद्ध भएपछि खाद्यान्न संकट उत्पन्न भएको गाउँपालिका प्रमुख मेजर कुमार राईले जानकारी दिए ।

उनले एक वर्ष बढी लामो खडेरीपछि असार २६ बाट सुरु भएको लगातार बर्षाका कारण पहिरो खसेर सडकहरु अवरुद्ध भएका कारण खाद्यान्नको चरम संकट सृजना भएको बताए ।

यसअघि त्यहाँका व्यापारीहरुले गाईघाटबाट खाद्यान्न लगेर बेच्ने गरे पनि त्यो अवस्था नरहेको उनको भनाइ छ ।

लिम्चुङ गाउँपालिकामा मात्र २६ सय घरधुरी खाद्यान्न संकटमा रहेको उनले बताए । वर्ष दिनको खडेरीका कारण किनेर खानसक्ने हैसियत भएका व्यक्तिहरुले समेत अन्न किन्न नपाएको उनले जानकारी दिए ।