लामो रस्साकस्सीपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सहइन्चार्ज चयन गरेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले ७७ भूगोल जिल्ला कमिटीसहित नेकपाले जिल्ला कमिटीकै हैसियतका ६ महानगर कमिटीको जिम्मेवारी बाँडफाँट गरेको हो ।
नेकपामा ९ सदस्यीय सचिवालय, ४५ सदस्यीय स्थायी कमिटीसहित ४४१ जनाको केन्द्रीय कमिटी छ । जसमध्ये २३५ केन्द्रीय नेताले जिम्मेवारी पाएका हुन् । ७७ जिल्लामध्ये पूर्वएमालेले ४१ जिल्लामा इन्चार्ज लिएको छ । माओवादी केन्द्रको भागमा ३६ जिल्ला इन्चार्ज परेको छ ।
६ महानगरपालिकामध्ये विराटनगर र चितवनको भरतपुर महनगरपालिका पूर्वमाओवादी केन्द्रको भागमा परेको छ ।
काठमाडौँ, ललितपुर, पोखरा र वीरगञ्ज महानगरपालिका कमिटीको इन्चार्ज पूर्वएमालेले लिएको छ । चार महानगरमध्ये ३ माधव नेपाल पक्षले र पोखरा महानगरपालिकामात्रै केपी ओली पक्षले पाएको छ ।
जिल्ला इन्चार्जमा पार्टी अध्यक्ष प्रचण्ड पक्षको संख्या बढी छ । प्रदेश १ मा पाँचथर, इलाम, धनकुटा, भोजपुर, सोलुखुम्बु जिल्ला कमिटीसहित विराटनगर महानगरपालिकाको इन्चार्जमा प्रचण्डनिकट नेता चयन भएका छन् ।
दुई नम्बर प्रदेशमा सप्तरी, धनुषाको जिल्लामा मात्रै प्रचण्ड पक्षीय नेता इन्चार्ज चयन भएका छन् ।
तीन नम्बर प्रदेशमा धादिङ, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली जिल्ला कमिटी र भरतपुर महानगरपालिका कमिटीको इन्चार्ज प्रचण्डको भागमा परेको छ । भरतपुर महानगरकी इन्चार्ज त्यहाँकी मेयर एवम् प्रचण्डपुत्री रेणु दाहाल चयन भएकी छन् ।
गण्डकी प्रदेशमा प्रचण्ड पक्षका चारजना जिल्ला इन्चार्ज चयन भएका छन् । गोरखा, तनहुँ,, पर्वत, बाग्लुङमा प्रचण्ड पक्ष नेता जिल्ला इन्चार्ज छानिएका छन् ।
पाँच नम्बर प्रदेशमा प्रचण्ड पक्षका चारजना इन्चार्ज चयन भएका छन् । कपिलवस्तु, गुल्मी, प्युठान, रोल्पामा प्रचण्ड पक्षका नेता जिल्ला इन्चार्ज छानिएका छन् । कर्णाली प्रदेशतर्फ सुर्खेत, कालिकोट, जुम्ला, हुम्ला र सल्यान प्रचण्डको भागमा परेको छ ।
सुदूरपश्चिमको इन्चार्जमा पनि प्रचण्डको उल्लेख्य उपस्थिति छ । बैतडी, डडेलधुरा, अछाममा प्रचण्ड पक्ष नेता इन्चार्ज तोकिएका छन् ।






