अम्बिकाले ल्याइन् नयाँ तीजगीत (भिडियोसहित)

हिन्दु महिलाले दुखसुख, वेदना, आकांक्षा र सपना आपसमा साटासाट गर्ने पर्व हो तीज । विभिन्न कारुणिक गाथा, कथाहरुलाई प्रस्तुत गरिने तीजेगीतमा अचेल भद्दापन र उच्श्रृंखला बढेको देखिन्छ । यसभन्दा फरक युगका आकांक्षा, विकास, समृद्धिको चाहना र विकृतिमाथि प्रकार पनि तीजगीतबाट भइरहेकै छन् ।

वर्षैपिच्छे नयाँ खालका तीजगीत ल्याउने गायिका अम्बिका भण्डारीले यसपालि आँठा आँठा छेकेर बोलेको गीत बजारमा ल्याएकी छन् । गीत नमस्ते पोखराले सोमबार आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको छ । गीतको भिडियो निर्देशन पोखरा छवि सुवेदीले गरेका छन् भने दिवाकर भण्डारी सापटी, बुद्धिसागर खनाल, अम्बिका भण्डारी, कृष्णराज दाहाल र सोमु सुनारले अभिनय गरेका छन् ।

भण्डारीको लय, शब्द र स्वर रहेको गीतमा नृत्य भावना पन्त सल्यानी, कुलमाया क्षेत्रीको छ । गीतको संगीत संयोजन बिबि अनुरागीले गरेका हुन् भने छायांकन, सम्पादन शिव भुर्तेलले गरेका छन् ।

गायिका भण्डारीले यसपालि परिवार, समाज र महिला पीडाभन्दा फरक समग्र देशलाई गीतमा अभिव्यक्त गर्न खोजेको बताइन् । उनले भनिन्, ‘हामी आफैं सक्षम हुनुपर्छ भन्ने सन्देश दिँदै समाजका लागि भनेर निकालें । यसअघि दिदीबहिनी, महिलाका व्यथा गीतमा ल्याएकी थिएँ ।’

गायिका भण्डारीका यसअघि संसार छाडी गयौं, आऊ नाचौं दिदीबहिनी, खुसी राख्छु बाबा तिम्लाई, नभइदे न मेरो, माइती देशै झलल, हाम्रो माइतीघर, फूल फुल्यो जस्ता तीजगीत बजारमा आइसकेका छन् । साहित्यकारसमेत रहेकी भण्डारीका २ कविता संग्रह, १ खण्ड काव्य, १ मुक्तक प्रकाशन भइसकेका छन् ।