सागको लागि आवश्यक पुर्वाधार र पर्याप्त खेल सामाग्रीको अभाव रहेको विभिन्न खेलसँघका पदाधिकारीले बताएका छन् । आईतबार पोखरामा १३ औं सागमा आयोजना हुने सात खेलका विभिन्न संघका पदाधिकारीसँग बसेको छलफलमा खेलसंघका पदाधिकारीले पुर्वाधारसँगै खेल सामाग्रीको आवश्यकता औल्याएका थिए । राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य राजेश गुरुङको प्रमुख आतिथ्यतामा छलफलको क्रममा प्याराग्लाईडिङ, भारोत्तोलन लगायतका खेलहरुको खेल सामाग्रीको खाँचो औल्याए । पोखरामा महिला फुटबलसहित ह्याण्डबल, आर्चरी, भारोत्तोलन, प्याराग्लाईडिङ र ट्रायथोलनका खेलहरु आयोजना गरिने बोर्ड सदस्य गुरुङले जानकारी दिए ।
‘सागको लागि तयारी गर्दै प्रारम्भिक छलफलमा जुट्यौं । संघका पदाधिकारीले आफनो आवश्यकताहरुलाई जोड दिनुभयो ।’ बोर्ड सदस्य गुरुङले भने–‘आवश्यक पुर्वाधार तयार पार्नेदेखि खेल सामाग्रीको झिकाउनुपर्ने आवश्यकता देखियो ।’ प्याराग्लाईडिङको लागि १६ वटा ग्लाईडरसहित हार्नेस, उपकरण, गियर लगायतका सामान आवश्यक पर्ने नेपाल प्याराग्लाईडिङ तथा ह्याङग्लाईडिङका सल्लाहकार तथा प्रमुख प्रशिक्षक योगेश भट्टराईले भने–‘टेक अफ र ल्याण्डिङमा समेत व्यवस्था राज्यले गर्नुपर्छ ।’ टेक अफका ेलागि वडा नं १८ बाट लिइएको सिफारिस पत्र पोखरा महानगरपालिकालाई बुझाईसकिएको उनले बताए ।
तर महानगरपालिकाले भने त्यस तर्फ ध्यान दिएको छैन् । गत चैतमा पोखरा फेवातालमा एशियन ट्रायथोलन च्याम्पियन आयोजना गरिसकिएको छ । ट्रायथोलनको लागि पोखरा महानगरपालिका भित्र ट्राफिक व्यवस्थापन चुस्त बनाउनुपर्ने खाँचो समेत औंल्याएको छ । गत चैतमा आयोजित च्याम्पियनसिपमा सवारी साधनले सहभागिको साईकल नै ध्वस्त पारिदिएको थियो । त्यसले गर्दा पनि ट्राफिक व्यवस्थापन चुस्त बनाउनुपर्ने चुनौति रहेको कास्की जिल्ला ट्रायथोलन संघका पदाधिकारीले औल्याए ।
फेवाताल किनारमै ट्रायथोलनको एकेडेमी निर्माण गर्ने योजनासहित परिषदको लगानीमा आवश्यक पुर्वाधार निर्माण कार्य अघि बढाइएको छ । दीर्घकालिन योजनासहित अघि बढाइएको एकेडेमीको लागि परिषदले दुई पटक गरी ३० लाख रुपैयाँ उपलब्ध गराएको थियो । ह्याण्डबल तथा भलिबलको लागि भने इण्डोर हलको आवश्यकतामा जोड दिईयो । पोखरा रंगशालाभित्र बहुउद्देश्यीय कभर्ड हल छ ।
एउटा मात्रै इण्डोर हलले प्रतियोगिता आयोजना गर्न नसकिने भन्दै पोखरामा विभिन्न ठाँउमा रहेको इण्डोर हलको बस्तुस्थिति अध्ययन गर्ने बोर्ड सदस्य गुरुङले बताए । रंगशालाभित्रको ह्याण्डबल कोर्टलाई इण्डोर बनाउने र अन्य ठाउँमा इण्डोर हल बारे अध्ययन गरिने छ । इण्डोर हलको लागि ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
बहुउद्देश्यीय कभर्ड हलको लागि ५ करोड रुपैयाँ विनियोजन गरिएको छ । साउण्ड सिष्टम, सिट, पार्केटिङ लगायतका पुर्वाधार तयार पार्नुपर्ने खाँचो छ । त्यसको लागि परिषदले टेण्डर आह्वान गर्नुपर्ने छ । टेण्डर आह्वान भईसकेको छैन् । टेण्डर आह्वान नहुदाँ काम गर्न सहज हुने अवस्था देखिदैन् ।
महिला फुटबलको लागि पोखरा रंगशाला फुटबल मैदान निर्माणाधिन अवस्थामा छ । फाईनल डिजाईन नटुंगिदाँ समयमै बन्ने विषयमा आंशका छ । फुटबल मैदान भने प्राकृतिक बनाउने निर्णय गरिएको छ । निर्णयसँगै मैदानमा विछ्याइएको गिटीलाई झिकेर फेरी निर्माण कार्य गर्नुपर्नेले समय लम्बिन सक्ने सम्भावना छ । नोभेम्बरभित्रमा फुटबल मैदान र भिआईपी प्यारापिट निर्माण गरेर हस्तान्तरण गर्नु ठेकेदार कम्पनीलाई निर्देशन परिषदले दिईसकेको छ ।
भारोत्तोलन प्रतियोगिता भने पोखरा सभागृह हलभित्र आयोजन ागर्न सकिने प्रस्ताव गरिएको छ । सभागृह हलको बाहिर खेलाडीको लागि टेण्ट राखेर प्लेट फर्म निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिईयो । डेढवर्ष अघि पोखरामा आयोजना गरिएको राष्ट्रिय भारोत्तोलन प्रतियोगिता भने पोखरा उद्योग वाणिज्य संघमा सञ्चालन गरिएको थियो । आर्चरीको लागि ग्रिनरी गर्ने प्रस्ताव गरियो ।
कास्की जिल्ला आर्चरी संघका अध्यक्ष योगेन्द्र शेरचनले आर्चरी मैदान वरिपरी ८० वटा बृक्षारोपण गरिने बताए । परिषदले उपलब्ध गराउने ९० लाख रुपैयाँबाट जमिन सम्याई दुवो रोप्ने योजना रहेको समेत सुनाए । बैठकमा बोर्ड सदस्यसहित पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्षसहित निर्देशक, उपनिर्देशक, कार्यालय प्रमुख, जिल्ला अध्यक्ष, कार्यालय प्रमुख तथा विभिन्न खेल संघका अध्यक्ष र सचिवहरुको उपस्थिति रहेको थियो । file pic
kheladinews.com




