नेपालमा फेरि भारी वर्षा हुने

देशका विभिन्न जिल्लामा ठूलो धनजनको क्षति गरेर थामिएको वर्षा नेपालमा फेरि दोहोरिने भएको छ ।

मनसुनी रेखा नेपालतिर सर्दै आएकाले केही दिन भारी वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । त्यसको प्रभाव आइतबार त्यति धेरै नपरे पनि सोमबारबाट भने बढी देखिने छ ।

नेपालमा पुनः भारी वर्षाको सम्भावना रहेकाले समयै सचेतता अपनाउन पनि मौसमविद्हरुले आग्रह गरेका छन् ।
‘मनसुनी ट्रफ घरी माथि घरी तल गरिरहन्छ । यो जहाँ रहन्छ, त्यहाँ बढी पानी पर्छ’, मौसमविद मञ्जु बासीले भनिन् ।

यसअघि दक्षिणतिर सरेको यो रेखा बिस्तारै नेपालतिर सर्दै आएको छ । यो रेखा सोमबार नेपाल भित्रिने र मंगलबार भारी वर्षा हुने मौसमविदको भनाइ छ । ‘भोलि केही स्थानमा र पर्सी देशैभर डिस्टर्ब हुन्छ,’ मौसमविद बासीले भनिन् ।

भारी वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो जाने र खोलाहरुमा जल सतह बढ्ने भएकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् ।