कैलालीको धनगढी उपमहानगरपालिका वडा नं. ३ शहीद गेटमा शक्तिशाली बम विष्फोट भएको छ । विस्फोटमा ५ जना घाइते भएका छन् ।
घाइते हुनेमा बझाङका राम सिंह, कञ्चनपुरको बेलौरी ५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी ४ बोराडाडीका केशवराज पाण्डे छन् ।
धनगढीको निलम होटल अगाडि विस्फोट भएको हो । घाइते पाण्डे सोही होटलका सञ्चालक हुन् । शक्तिशाली बम वस्फोट भएको प्रहरीले जनाएको छ ।
घटनास्थलमा ९ एमएमको पेस्तोल समेत भेटिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानले घटनामा विप्लव समूहको संलग्नता देखाएको छ । घाइतेमध्ये सिंह र सेरला विप्लव समूहका सदस्य भएको प्रहरीले जनाएको छ । उनीहरूले नै बोकेर ल्याएको कन्टेनर विष्फोट भएको अनुसन्धानबाट खुलेको छ ।
विस्फोटमा आफ्नो पार्टीको संलग्नता नरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले दाबी गरेको छ । पार्टीका कैलाली जिल्ला सेक्रेटरी प्रकाश मल्लले बम विष्फोटलगत्तै प्रतिक्रिया दिँदै बम विष्फोट गराउने आफ्नो पार्टीको नीति नभएको स्पष्ट पारेका हुन् ।






