पोखरा इन्जिनियरिङ कलेजको तनाव अन्त्य

पोखराको फिर्केस्थित पोखरा इन्जिनियरिङ कलेजको केही दिनदेखिको तनाव अन्त्य भएको छ । कलेजमा अध्ययनरत विभिन्न विद्यार्थी संगठन, क्याम्पस प्रशासन मिलेर संगसंगै अघि बढ्ने सहमति भएपछि तनाव अन्त्य भएको हो ।

वडा प्रहरी कार्यालय बैदामा भएको छलफल र सहमति पछि उक्त तनाव अन्त्य भएको नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य भानु ढकालले जानकारी दिए ।

उनका अनुसार क्याम्पस प्रशासन र विद्यार्थी संगठनहरूबीच सहकार्य र एकता भइ मिलेर अघि बढ्ने, क्यापसमा लागेको ताला शुक्रबार बिहान खोल्ने र प्रहरीले पक्राउ गरेका नेविसंघका ६ जना नेतालाई पनि शुक्रबार नै रिहा गर्ने सहमति भएको छ ।

साथै सहमतिसंगै नेविसंघले आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको उनले बताए ।

क्याम्पसको विद्यार्थी परिषद मनोमानी ढंगले सञ्चालन गरेको भन्दै नेविसंघले परिषद्मा ताला लगाएर आन्दोलनमा उत्रिएको थियो । नेविसंघले लगाएको ताला एकाएक तोडिएपछि नेविसंघ आक्रोशित हुँदै क्याम्समा तोडफोड गरेको थियो ।

क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका नेताहरू टेनिस श्रेष्ठ, निश्चल पाण्डे, नन्दलाल सापकोटा, राजीव भण्डारी, फिरोज सुवेदी र विकास रानाभाटलाई पक्राउ गरेको थियो ।