सवारी दुर्घटनामा १ सय ४६ जनाको मृत्यु (१ वर्षको तथ्यांक)

चितवन जिल्लामा गत आर्थिक वर्षमा सवारी दुर्घटनाका कारण १ सय ४६ ले ज्यान गुमाएका छन् । जिल्लामा भएका २ सय ९५ दुर्घटनामा परी उनीहरूको ज्यान गएको हो ।

अघिल्लो आर्थिक वर्षमा २ सय ७१ दुर्घटनामा १ सय ३२ को मृत्यु भएको थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष २४ दुर्घटना बढेर १४ बढी मानिसको मृत्यु भएको छ ।

दुर्घटना न्यूनीकरणका लागि विभिन्न कार्यक्रम गरिएको भए पनि दुर्घटनाको क्रम भने रोकिएको छैन । गत आवमा भएका दुर्घटनामा ४ सय ५३ सवारी साधन परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार गत वर्ष भएका सवारी दुर्घटनामा परी ५ सय ५८ घाइते भएका छन् ।

जिल्लामा भएका सवारी दुर्घटनामध्ये मोटरसाइकल बढी रहेको छ । गत वर्ष २०५ मोटरसाइकल दुर्घटनामा परेका छन् ।

यस्तै ८० ट्रक तथा ट्याङ्कर, ५३ बस, ५२ जिप/कार दुर्घटनामा परेको कार्यालयको तथ्यांकले देखाएको छ ।

यस्तै कार्यालयले गत आवमा ४० हजार २९ सवारी कारवाही गरी रु ३ करोड ७ लाख ६६ हजार ५ सय राजश्व संकलन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ४५ हजार १ सय ५० सवारीसाधनलाई कारवाही गरी रु ३ करोड ३६ लाख ८७ हजार ५ सय राजश्व संकलन गरेको थियो ।

कारवाहीको संख्या हेर्ने हो भने जनचेतनाका कारण घट्दै गएको तर दुर्घटना न्यूनीकरण गर्न नसकेको प्रमुख गिरीले बताए ।

हलुका सवारी साधनको तीव्रगतिका कारण दुर्घटना बढी हुने गरेको उनले जानकारी दिए । बढ्दो सवारीको चाप र साँघुरा सडकका कारण भित्री सडकमा बढी सङ्ख्यामा दुर्घटना भएको उनले बताए । रासस (तस्वीर फोटो फाइल)