नगरसभामा साविक एमालेको एकलौटी, साविक माओवादीद्धारा वहिष्कार

सप्तरीको सप्तकोसी नगरपालिकाको चौथो नगरसभा मंगलबार सकिएको छ। नगरसभाले आर्थिक वर्ष ०७६७७ का लागि नीति तथा कार्यक्रमसहित ३६ करोड ५२ लाख १८ हजार १ सय ५२ रुपैयाँ ७६ पैसाको बजेट पारित गरेको छ।

नगरसभामा नेकपाकै पूर्व माओवादी समूह प्रतिपक्षका रुपमा देखिएको छ। सप्तकोसी नगरपालिकाका ११ वटै वडा नेकपाले जितेको थियो। तत्कालीन एमालेका ६ र माओवादी केन्द्रका ५ जना वडा अध्यक्ष निर्वाचित छन्।

निर्वाचित पाँचै वडाध्यक्षले चौथो नगरसभा भने बहिस्कार गरेका छन्। सभामा अनुपस्थित नभएका मध्ये वडा ५ का अध्यक्ष दीपक लेखीले भने हालैको बाढीका कारण विपदमा परेका वडालाई प्राथमिकतामा राखेर बजेट बनाउन आग्रह गर्दा सुनुवाइ नभएपछि सभा बहिस्कार गरिएको बताए। नगरसभाबाट पारित भएको नीति, कार्यक्रम र बजेट नगर कार्यपालिकाको बैठकले अनुमोदन नै नगरी सभामा पेस गरिएको उनको आरोप छ।