पोखरा–२० का मौजाबासीले झेल्दै आएको खानेपानीको समस्या समाधान भएको छ । महानगर भित्र भएता पनि मौजा गाउँमा हालसम्म खानेपानीको निकै समस्या थियो ।
वडाध्यक्ष सिम गुरुङको विशेष पहलमा गोर्खा वेल्फेयर ट्रष्ट र युके एडको सहयोगका मौजा गाउँमा १ घर १ धारा जडान गरी खानेपानी वितरण गरिएको हो ।
मौजा गाउँको ४५ घरमा जडान गरिएको खानेपानी धारा हालै हस्तान्तरण गरिएको हो । खानेपानीका लागी मौजाबासीले हालसम्म घरबस्तीदेखि टाढाटाढा रहेका कुवा तथा पँधेराबाट खानेपानी उपभोग गर्न बाध्य थिए ।
गोर्खा वेल्फेयर ट्रष्टले ग्रामीण खानेपानी सरसफाइ कार्यक्रम अन्तर्गत मौजादेखि ७ किलोमिटर पर काब्रोको युम्चाको मुलबाट मौजासम्म खानेपानी ल्याइएको हो ।
४५ घरमा निर्माण सम्पन्न गरि हालै समुदायलाई हस्तान्तरण गरिएको खानेपानी सरसफाइ कार्यक्रमले उक्त क्षेत्रका २ सय ६६ जना लाभान्वित हुने ट्रष्टका प्रोजेक्ट म्यानेजर बुद्धिबहादुर श्रीषले बताए ।
गत फागुनमा सुरु भएको खानेपानीको काम चैत्र महिनामा सकेर हालै समुदायलाई हस्तान्तरण गरिएको वताउदै प्रोजेक्ट म्यानेजर श्रीषले उक्त योजना ३३ लाख ७३ हजार रुपैयाँमा सम्पन्न भएको बताए । उक्त योजनामा स्थानीयको ११ लाख ९९ हजार रुपैयाँ बराबरको जनश्रमदान रहेको श्रीषले बताए ।
पोखरा–२० का वडाध्यक्ष सिम गुरुङले आफूले चुनावको वेला मौजाबासीलाई खानेपानीको समस्याबाट मुक्त गराउने प्रतिवद्धता जनाएका थिए । सोही प्रतिवद्धता अनुरुप गोरखा वेल्फेयर ट्रष्टको सहकार्यमा खानेपानीको समस्या झेल्दै आएको मौजामा ढिलै भए पनि खानेपानी ल्याउन पाउँदा निकै खुसी लागेको वडाध्यक्ष गुरुङले बताए ।
घरघरमा आइपुगेको धारालाई उचित प्रयोग गर्दै पानीको अभावमा तरकारी खेतीहरू नभइरहेको सन्दर्भमा आगामी दिनमा ब्यवसायिक तरकारी खेतीतर्फ जोड दिन उनले आग्रह गरे ।
अध्यक्ष गुरुङले वडा नम्बर २० दुर्गम क्षेत्र भएतापनि महानगरबाट पाउने सुविधा नपाएको बताउँदै अध्यक्ष गुरुङले जनतालाई सुविधा प्रदान गर्नका लागि आफू सधंै कटिवद्ध भएर लाग्ने बताए । मौजामात्र नभइ लामडाडा गाउमा पनि छिट्टै गोरखा वेल्फेयर ट्रष्ट संग समन्वय गरी खानेपानीको समस्याको समाधान गर्ने गुरुङको भनाइ छ ।
मौजा खानेपानी उपभोक्ता समिति अध्यक्ष देवबहादुर गुरुङले घरघरमा खानेपानीको धाराबाट पानी आएपछि गाउलेले झेल्दै आएको खानेपानीको समस्याको समाधान भएको बताए ।
मौजा गाउँमा धेरै लामो समयदेखि खानेपानी समस्यालाई समाधान गर्न खोजिएको भएता पनि विविध समस्याले गर्दा स्वस्थ पानी खानबाट मौजाबासी बञ्चित भैरहेको अवस्थामा जनप्रतिनिधी आएपछि खानेपानीको समस्या समाधान भएकोमा खानेपानी समितिका अध्यक्ष गुरुङ्गले खुसी ब्यक्त गरे ।
मौजा खानेपानी उपभोक्ता समितीका कोषाध्यक्ष सीता गुरुङले योजनाको आयब्याय प्रस्तुत गरेको कार्यक्रममा समितिका सचिव खोमाया गुरुङले स्वागत मन्तब्य राखेकी थिइन् ।






