आर्थिक वर्षको अन्त्यमा उपभोक्ता समिति, ठेकेदारसहित लेखा विभाग कर्मचारीलाई भ्याइनभ्याइ छ । तोकिएको समयमा काम नसक्ने उपभोक्ता समितिका पदाधिकारी भुक्तानिका लागि म्याद थपिदिन वडाबाट सिफारिस बोकेर महानगर आइरहेका थिए ।
समयमा काम नसक्ने निर्माण कम्पनीहरुलाई अघिल्लो सालबाटै कारवाही सुरु गरेका पोखरा महानगरका मेयर मानबहादुर जिसी भने योजनाहरुको गुणस्तर र काम हेर्न अचानक अनुगमनमा निस्किएका छन् । असार मसान्तको अन्तिम दिन आउनेलाई कामको आधारमा मात्र भुक्तानी दिने अडानसहित कामको मूल्यांकन र अनुगमन गर्न उनी इन्जिनियरसहित अनुगमनमा निस्किएका हुन् ।
अनुगमनका क्रममा वडा न ४ का दुइ योजना समयमा नसकेको पाइयो । मेयर जिसी वडा न १ को सडक निर्माण हेरेर वडा न १६ को योजना अनुगमन गर्न पुगे । टोलीले महेन्द्र गुफा जोगिमणी सडक निर्माणको गुणस्तर कायम राख्न निर्देशन दिँदै वडा न १९ का समय अवधिमा नसकिएको लामाचौर हवल्दारको चौतारादेखी अकला मन्दिर तर्फ जाने सडकको अवस्था पनि बुझेको छ ।
टोलीले सार्वजनिक शौचालय निर्माण, सडक निर्माण लगायतका आयोजनाको गरेको छ । बिना जानकारी मेयर अनुगमन गर्न फिल्डमा पुगेपछि उपभोक्ता समितिका पदाधिकारीहरु कतै आश्चर्यमा परेका थिए भने कतै लिखितमा काम सकेर फिल्डमा बाँकी रहेकाहरु आक्रोशित पनि भएका थिए । मेयर जिसीले समयमा काम नसक्ने र गुणस्तर नभएका योजनाको भुक्तानी नहुने जनाउँदै स्थानीयलाई नजिकका योजनाहरु अनुगमन गरी सुझाव दिन आग्रहसमेत गरेका छन् । उनले काममा गुणस्तर नभएमा र समयमा काम नसकेमा अब निर्माण कम्पनीलाई मात्र होइन, उपभोक्ता समितिलाई पनि कारवाही गर्ने बताएका छन् ।






