मन्त्रीको राजीनामा माग गर्दै प्रदर्शन

 संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग गर्दै मंगलबार काठमाडौंमा प्रदर्शन गरिएको छ ।

समानुपातिक, समावेशी सिद्धान्त विपरीत खुलाइएको लोकसेवा आयोगको विज्ञापन तत्काल खारेज गर्न माग गर्दै आएको ‘आरक्षण बचाऔंँ आन्दोलन’ ले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गर्दै मन्त्री पण्डितको राजीनामा माग गरेको हो ।

प्रदर्शनीमा उत्रिएका महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदायहरुले संविधान विपरीत स्थानीय तहको विज्ञापन खुलाइएको दाबी गर्दै तत्काल खारेज गर्न लोकसेवा आयोगलाई पनि दबाब दिएका छन् ।

‘सीमान्तकृत समूदायको अधिकार सुनिश्चित गर’, ‘लोकसेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’, लगायतका प्लेकार्ड बोकेका उनीहरुले समावेशी सिद्धान्तको खिल्ली उडाउने काम गरेको भन्दै सरकारविरुद्ध चर्का नाराबाजी समेत गरेका थिए ।

लोक सेवा आयोगले खुवाएको स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी विज्ञापन संविधानको भावनाअनुसार नआएको भन्दै सर्वोच्च अदालतमा पनि रिटसमेत दायर गरिएको छ ।

यसअघि विज्ञापन खारेजीको माग गर्दै परेको रिटमा सर्वोच्च अदालतले सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको थियो । यता लोकसेवा आयोगको विज्ञापन खारेज हुनुपर्ने माग गर्दै इलाममा पनि प्रदर्शन गरिएको छ ।