नेविसंघ कास्कीमा थुप्रै सभापति, आधिकारिक को हो ?

नेपाली कांग्रेसको शक्तिशाली भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) कास्कीमा कति वटा कमिटी होला ? यो सबैको चासोको विषय बनेको छ ।

हुन त नेपाली कांग्रेसले नेविसंघ विघटन गरेको ५ महिना भैसकेको छ । यस्तो अवस्थामा नेविसंघ छैन भन्न मिल्छ । तर कास्कीमा ४/५ वटा नेविसंघ छन् । नेविसंघको नाममा विभिन्न गतिविधि पनि भइरहेका छन् ।

पोखरा ईन्जिनियरिङ्ग कलेजको घटनाले कास्कीमा ४/५ वटा नेविसंघ देखिएका छन् । ३ वटा नेविसंघका छ्ट्टा छुट्टै सभापतिले त विज्ञप्ति नै जारी गरेका छन् भने अर्को नेविसंघले कास्कीमा शैक्षिक हड्ताल घोषणा गरेको छ ।

पोखरा ईन्जिनियरिङ्ग कलेजको घटनामा छ्ट्टा छुट्टै विज्ञप्ति जारी गर्ने सभापतिमा विक्रमादित्य सिंह गिरी, विकास थापा र पर्शुराम बस्नेत छन् ।

पोखरा इन्जिनियरिङ कलेजको घटनामा नेविसंघका ३ वटा सभापतिले निकालेका छुट्टा छुट्टै विज्ञप्ति

उनीहरू सबैले जारी गरेको विज्ञप्तिको आशय एउटै रहेको छ । विज्ञप्तिमार्फत उनीहरूले पोखरा ईन्जिनियरिङ्ग कलेजको घटनामा पक्राउ परेका आफ्ना नेता कार्यकर्ता पक्राउ गरेकोप्रति आपत्ति जनाउँदै विनाशर्त यथाशीघ्र रिहाइको माग गरेका छन् । साथै उनीहरूले पक्राउ परेकाहरूको तत्काल रिहाइ नगरिए कडा संघर्ष गर्ने चेतावनी दिएका छन् ।

यसैबीच कास्कीमा नेविसंघका कतिवटा संगठन छन् भनेर प्रश्न गर्दा कास्की कांग्रेसका सभापति कृष्ण केसीले अहिले नेविसंघ नै नरहेको उत्तर दिए । उनले कांग्रेसले विघटन गरेपछि नेविसंघ नै नरहेको भन्दै संघको नाममा आएका विज्ञप्तिहरू आधिकारिक नभएको स्पष्ट पारे ।

यसैगरी नेविसंघका निवर्तमान केन्द्रीय सदस्य भानु ढकालले संघको नाममा गतिविधि हुनु स्वभाविक भए पनि आधिकारिक नेविसंघ भने नभएको बताए ।

उनले एक साथीमाथि परेको समस्यामा आवाज उठाउनु सराहनीय भए पनि छुट्टा छुट्टै भएर आवाज रुपमा उठ्नु राम्रो नभएको बताए ।
उनले नेविसंघनै विघटन भएको अवस्थामा नेविसंघ नै नभएको र विज्ञप्ति जारी गर्ने कोही पनि आधिकारिक सभापति नभएको स्पष्ट पारे ।

पोखरा ईन्जिनियरिङ्ग कलेजमा तोडफोड गरेको आरोपमा नेपाल विद्यार्थी संघ (नेविसंघ) पोखरा इन्जिनियरिङ कलेज फिकेका ६ जना नेताहरू पक्राउ परेका छन् । उनीहरूलाई बैदाम प्रहरीले भर्खरै पक्राउ गरेको हो ।

उनीहरूलाई पोखरा इन्जिनियरिङ कलेजको स्ववियु कार्यालय तोडफोड गरेको आरोपमा सोमबार प्रहरीले नेविसंघका नेताहरू टेनिस श्रेष्ठ, निश्चल पाण्डे, नन्दलाल सापकोटा, राजीव भण्डारी, फिरोज सुवेदी र विकास रानाभाटलाई पक्राउ गरेको थियो ।

क्याम्पसको स्वतन्त्र विद्यार्थी परिषदले क्याम्पसका कार्यक्रमहरूमा राजनीतिकरण गरेको भन्दै नेविसंघले केही दिनअघि परिषदमा ताला लगाएको थियो । उक्त ताला सोमबार नेविसंघसंग समन्वय नगरी तोडिएपछि नेविसंघ तोडफोडमा उत्रिएको थियो ।

पक्राउ परेका नेविसंघका कार्यकर्तालाई सार्वजनिक मुद्धा चलाईने वैदाम प्रहरी प्रमुख कोमल शाहले जानकारी दिए ।

हामी पाठकको रचनात्मक प्रतिक्रिया, कमेन्ट, सेयरको सराहना गर्दछौं । तर नेपालदुतमा प्रकाशित समाचार वा अन्य सामग्री जस्ताको तस्तै वा परिमार्जनसहित अन्य न्युज पोर्टलमा प्रकाशित नगर्न अनुरोध छ ।