अघिल्लो वर्ष प्रेमसम्बन्धी लेखिएका केही उपन्यास बजारमा आए । कृष्ण आचार्यको ‘अप्रिल फुल’ सरोज रेग्मीको ‘मिस य’ु र निमेष पौडेलको ‘फेब्रुअरी फोर्टिन ।’ अप्रिल फुललार्ई युरेका पब्लिकेशनले, मिस यु लाई बुक वल्र्ड पब्लिकेशनले र फेब्रुअरी फोर्टिनलाई बुलबुल पब्लिकेशनले बजारमा ल्याएको छ । संयोगवश यी पुस्तकको नामाकरण पनि अङ्ग्रेजी भाषाबाटै गरिएको छ । अनि लेखकहरुको उमेर पनि मिल्दोजुल्दो छ । जवान उमेर उनीहरुले आफना कृतिमा उठाउन खोजेको विषयबस्तु पनि उस्तै उस्तै । वर्तमान समयको चटपटे प्रेम ।
अहिलेको समयमा प्रेमी प्रेमिकाको प्रेमको उदगमस्थल फेसबुक हो । पहिला पहिला हाट बजार लाग्दा, गाउ“मा पूजाआजा, बिहे ब्रतवन्ध हु“दा प्रेममा बा“धिन्थे जोडी । तर अहिले समय फेरिएको छ । प्रविधिले प्रेममा पनि सहज परिस्थितिको सिर्जना गरिदएको छ । अर्थात प्रेम प्रविधिमय भइरहेको छ । यही प्रेमलार्ई नजिकबाट उत्खनन गर्ने कोशिस गरेका छन् त्रय नौजवान लेखकले ।
साहित्य समाजको दर्पण हो यो भनाई त सर्वविदितै छ । समाज र समयले लेखकलाई गम्भीर प्रभाव पारिरहेको हुन्छ । यही प्रभावका आधार हुन् यी तीन वटा उपन्यास । भर्चुअल प्रेमलाई पारदर्शी शैलीमा चित्रण गरेका छन् । प्रेममा डेटिङको महत्वलाई तीन जना लेखकले शायद राम्ररी बुझेर होला, उच्च मान्यता दिन पछि परेका छैनन् तीन वटै उपन्यासका मायालु पात्रहरु ।

उहिले उहिले प्रेमपत्र लेख्ने चलन थियो । पठाएको जवाफ आउ“थ्यो पनि आउ“दैनथ्यो पनि । रातो रङ्गले मुटुमा वाण हानेको तस्बिर कोरेर प्रेमपत्रलाई रङ्गीविरङ्गी बनाइन्थ्यो । तर अहिले प्रेमपत्रको स्थान म्यासेन्जर भएको छ । दोहोरो संबाद गर्नलाई एकदम सजिलो । यसैमा पोख्छन् एक अर्काले आफनो प्रेम । मेसेन्जरका इमोजीले प्रेमकोे काफी काम गरेका छन् । प्रेम व्यक्त गर्न, खुसी व्यक्त गर्न, रिसाएको संकेत गर्न, दुखी भएको महसुस गराउन इमोजीहरु रामवाण साबित भएका छन् ।
समय फेरिएको छ । प्रेम सम्बन्ध हुनासाथ शारीरिक सम्पर्कका लागि तयार हुन्छन् युवायुवती । भोलिको दिनप्रति बेखबर हुन्छन् र वर्तमानमा मनोरञ्जन गर्छन् । क्षणिक सम्बन्ध क्षणभरमै टुटछ । अनि फेरि जोड्नु र तोड्नुको सिलसिला चलिरहन्छ । यसले प्रेमको स्थायी प्रभावमा असर परेको प्रष्ट रुपमा बुझिन्छ । जति प्रेम गर्न सहज हुन थाल्यो, त्यति नै प्रेमले गहिराई बिर्सिन थाल्यो । यी तीन प्रेमको बारेमा लेखिएका उपन्यासले यही सन्देश दिन खोजेका छन् ।
जति प्रेम गर्न सहज हुन थाल्यो, त्यति नै प्रेमले गहिराई बिर्सिन थाल्यो । यी तीन प्रेमको बारेमा लेखिएका उपन्यासले यही सन्देश दिन खोजेका छन् ।
आधुनिकता र स्वतन्त्रताको नाममा विश्वास गुमाएर धरापमा परेको प्रेम सम्बन्धको बारेमा यी तीन लेखकले मज्जाले चित्रण गरेका छन् । समयस“गस“गै फेरिएको प्रेम गर्ने शैलीलाई आ–आफनो कृतिमा व्याख्या गरेका छन् ।
आफनी प्रेमिकाले अप्रिल फुल मनाउने दिन प्रेमीलाई डेटिङमा बोलाएको अनि नआएको प्रसंग वरिपरि घुमेर लेखक कृष्ण आचार्यले पुस्तकको नामाकरण गरेका छन् । प्रेम गर्नेको बारेमा लेखकले गरेको व्याख्या एकदम सारगर्भित छ, ‘आपसी सहमतिमा प्रेमी−प्रेमिका यौन प्यास मेट्छन् भने दुनिया“को टाउको किन दुख्नुपर्ने ? रेस्टुरा“ वा लजमा सहमतिमा बसेका प्रेमजोडी समाउ“दा प्रहरी किन अपराधी समाएझैै गर्छ ?’

आफूले प्रेम गरेको मान्छेस“ग विहे गर्न नपाएपछि जिन्दगीभर सम्झिरहने र नियास्रो मान्ने भावनाको उजागर गरेर सरोज रेग्मीले आफनो उपन्यासको शीर्षकलाई ‘मिस यु’ भनेर सम्बोधन गरेका छन् । उनको उपन्यासभित्रको एउटा वाक्य एकदमै मर्मस्पर्शी छ ‘जीवनमा प्रेम एक पटक र एक पटक र एक जनास“ग मात्र हु“दैन् ।’
फेब्रुअरी फोर्टिन भ्यालेनटाइन डे भएकाले प्रेमी प्रेमिकाले एक अर्काको प्रेम साट्नको लागि महत्वपूर्ण अबसर हो । यही दिनमा आफनी प्रेमिकास“ग भेट हुने उचित मौका ठान्ने प्रेमीको प्रेमिल मानसिकतालाई समेटेर लेखकले किताबको नाम फेब्रुअरी फोर्टिन राखेका छन् । निमेष पौडेलको विचारमा ‘प्रेम निष्ठावान् भएर विप्लवी पनि छ र विप्लवी भएर निष्ठावान् पनि छ ।’

तीन जना युवा लेखकले गरेको प्रयास उदाहरणीय छ । किताबहरु बिकेका पनि छन् । अहिलेको प्रेम र यसको सकँरात्मक तथा नकँरात्मक पक्षलाई नजिकबाट बुझनको लागि यी किताबले भरपुर सहयोग गर्छन् । तर लेखकहरुले आफू क्षणिक समयका लागि मात्र नटिकेर स्थापित हुनको लागि लेख्नुपर्ने देखिन्छ । एक पटक लेखेको कृतिले लामो समयसम्म चर्चा पाओस् । तत्कालीन समयका लागि मात्र नभएर पछिसम्म यसले पाठकको मनमा छाप छोडिराखोस् ।
दश वर्षपछि पढ्दा पनि उत्तिकै सजीव लागोस् कृति । अझ मन् छुने रचना उनीहरुले गर्न सकून् । आफनो लेखनलाई टिकाउ र बिकाउ बनाइरहून् । यी तीन लेखकलाई शुभकामना !




