‘मानव सेवा आश्रम’ असहायको भरपर्दो सहारा

दिनरात खुल्ला आकाशमुनि नारकीय जीवन बिताइआएका असहाय एवं मनोरोगीका लागि पोखराको १ संस्था भरपर्दो सहारा बनेको छ ।

पोखरा महानगरपालिका वडा नं १७ छोरेपाटनस्थित मानव सेवा आश्रमले सडकमा लामो समयदेखि कष्टकर जीवन बिताउँदै आएका मानिसहरुलाई उद्धार गरी गाँस, बास र कपासको व्यवस्थासहित न्यानो पारिवारिक वातावरण दिँदै आएको छ ।

पोखरा बजारका सडक एवं सार्वजनिक स्थलमा कहालिलाग्दो जीवन बिताउँदै आएका अनाथ, अशक्त, असहाय एवं मनोरोगीको उद्धार गरी उनीहरूको उपचार, पालनपोषण र स्याहार गर्दै पारिवारिक पुनर्मिलन गराउन थालिएको उक्त आश्रमका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए ।

उनका अनुसार २०७४ चैत १७ पोखरा बजारका विभिन्न स्थानबाट एकैदिन उद्धार गरिएका २३ जनाबाट शुरु गरिएको आश्रममा अहिले २ महिने शिशुसहित ९१ वर्षका जेष्ठ नागरिकसम्म गरी कुल ९० जना छन् ।

समाजका अनाथ, अपाङ्ग, अशक्त, असहाय एवं मनोरोगीको उद्धार, उपचार, पालनपोषण, संरक्षण तथा पारिवारिक पुनर्मिलनको माध्यमबाट नेपाललाई सडक मानव मुक्त गर्ने लक्ष्यका साथ संस्थाको स्थापना गरिएको हो ।

पोखरा रामबजारस्थित एसओएस बालग्राम आमा समूह एवं सफल बचत तथा ऋण सहकारी संस्था पोखरा–७, घारीपाटनद्वारा १ छाक खानाका लागि १७ हजार ५ सयका दरले सहयोग प्राप्त भएको उनले जानकारी दिए ।

उत्पादनसँगै मनोरोगीहरुको जीवन शैलीमा समेत परिवर्तन आउने र त्यसले सामाजिक जीवनमा लैजान महत्वपूर्ण सहयोग पुग्ने विश्वासका साथ आश्रमको हातामा तरकारी खेती समेत शुरु गरिएको छ ।

संस्थाको कास्की शाखामा उनीहरूको पालनपोषणमा दैनिक ३५ देखि ४० हजार रुपैयाँसम्म खर्च हुने गरेको उनको भनाइ छ ।

पोखरामा सञ्चालित विभिन्न संघसंस्था, स्थानीय तह लगायत जन्मोत्सव, विवाहगाँठ, पुण्यतिथि लगायतका विभिन्न अवसरहरुमा प्राप्त हुने सहयोगले आश्रम सञ्चालन हुँदै आएको छ । उनका अनुुसार आश्रममा हाल खानाको समस्या नभए पनि लत्ताकपडा र उपचारमा भने कठिनाइ हुने गरेको छ ।

आश्रमका लागि गण्डकी प्रदेश सरकारबाट आर्थिक वर्ष २०७५/७६ मा ६ लाख रुपैयाँ प्राप्त भएको थियो । पोखरा महानगरपालिका वडा नं ८, ९ र १७ बाट ५०/५० हजार रुपैयाँका दरले रकम प्राप्त हुँदै आएको छ । अध्यक्ष तिमिल्सिनाका अनुसार वार्षिक डेढ करोड रुपैयाँ पालनपोषणमा मात्र खर्च हुने गरेको छ ।

पोखरा बजारमा कष्टकर जीवन बिताउन बाध्य २ सय ५० जनाको उद्धार भइसकेको छ भने कास्की, गोरखा, पाल्पा, तनहुँ, स्याङजा लगायतका विभिन्न जिल्लाका ७० जनालाई उपचार पछि परिवारसँग पुनर्मिलन गराइसकिएको छ ।

मानव सेवा आश्रम कास्कीका सहसंयोजक राजन सापकोटाका अनुसार सडकबाट प्रहरी, आमा समूह, क्लब एवं स्थानीय बासिन्दाको सहयोगमा उद्धार गर्नुभन्दा पनि आश्रममा ल्याइसकेपछि सरसफाइ र पारिवारिक वातावरणमा रुपान्तरण गर्न लामो समय लाग्ने गरेको छ ।
आश्रममा रहेका आमाबुबामा पुरानो कपडा लगाउँदा मानसिक असर पर्ने गरेका कारण नयाँ कपडामा जोड दिँदै आएको पनि उनले बताए ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिका महासचिव योगेन्द्र केसीले पछिल्लो समय मुलुकका ७ वटै प्रदेशमा आश्रम सञ्चालनसँगै सडकका मुख्य बजारमा असहाय एवं मनोरोगीको संख्यामा कमी आएपछि ती व्यक्तिका कारण हुने दुर्घटनामा समेत कमी आएको बताए ।

‘सबैका लागि खाना, नाना र छाना हाम्रो चाहना’ भन्ने मुख्य नारासहित मकवानपुरमा मुख्य कार्यालय रहेको यस संस्थाका मोरङ, काठमाडौँ, चितवन, ललितपुर, गोरखा, लमजुङ, पर्सा, बागलुङ, कास्की, रुपन्देही, कैलाली र सुर्खेतमा गरी १२ जिल्ला शाखा छन् भने तीन वटा उपशाखा पनि छन् ।

मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीका अनुसार २०६९ सालमा स्थापना भएको संस्थाले २ हजारभन्दा बढी सडक मानव एवं मनोरोगीको उद्धार गरिसकेको छ । यस अवधिमा २० भारतीय र १ बंगलादेशी महिलासहित ४ सय जनालाई पारिवारिक पुनर्मिलन गराइसकिएको छ ।

अध्यक्ष तिमिल्सिनाका अनुसार सडकमा उद्धार गरिएका महिलाबाट जन्मिएका सन्तानका लागि गोरखा जिल्लामा बाल गोपाल नमूना बाल शाखा सञ्चालन गरिएको छ, जुन शाखामा हाल विभिन्न जिल्लाका ३५ जना बालबालिका रहेका छन् ।

वैदेशिक दातृ राष्ट्रको शर्तसहितको सहयोग नलिई मुठ्ठीदानबाट सञ्चालन गर्ने लक्ष्यका साथ मानवताका लागि सञ्चालन हुँदैआएको यस आश्रमलाई अहिले स्थानीय सरकारको महत्वपूर्ण सहयोग रहँदै आएको उनको भनाइ छ ।

‘१ गाँस भोजन र एकसरो कपडाका अभावमा कसैले पनि सडक जीवन बिताउन नपरोस, दिसापिसाब र फोहरमा लत्पत्तिएर जीवनको भिख माग्न नपरोस्’ भन्ने अभियानका साथ आश्रम सञ्चालन गरिएको अध्यक्ष तिमिल्सिनाले बताए ।

नेपालमा २०८२ सालसम्ममा सडकपेटी एवं सार्वजनिक स्थलमा कसैले पनि कष्टपूर्ण जीवनयापन गर्न बाध्य हुनुपर्ने अवस्थाको अन्त्यका लागि संस्था कटिबद्ध रुपमा लागेको उनले स्पष्ट पारे ।

‘दाता दिने बेलामा खुशी, दिइरहेका बेलामा शान्त र दिइसकेपछि सर्वोत्कृष्ट हुन्छ’ भन्ने अभियानअन्तर्गत मुलुकका विभिन्न १५ वटा शाखा र उपशाखामा १ सय जना मानव सेवा अभियन्ता क्रियाशील रहेका छन् ।

४० जना सेवकसेविका आश्रमका आमाबुबाको दिसालाई फोहर नसम्झी सरसफाइमा अहोरात्र खट्दै आएका छन् ।

संस्थाको सकृयतामा १२ वर्षसम्म गाईको गोठ बाँधिएका लम्जुङ चितीका मानसिं नेपाली, १३ वर्षसम्म हातमा साङ्ग्लो लगाइएका सप्तरीका उमाकान्त चौधरी, भरतपुर अस्पतालको हातामा आश्रय लिएका ६ जना, लुम्बिनी अस्पताल नजीकबाट खुट्टामा भई कीरा परेका १ जना र रोल्पाकी पूर्व लडाकू सीता विक भन्ने निर्मला लगायतका दर्जनौंलाई उद्धार गरिइसकिएको छ ।(रासस)