पोखरा महानगरपालिका वडा नं २५ हेम्जास्थित बाबियातरामा मानवीय स्मारक (मानव सेवा धाम) को निर्माण कार्य शुरु भएको छ । लक्ष्मीनारायण सनातन संस्कार प्रतिष्ठानले उपलब्ध गराएको ६३ रोपनी जग्गामा १ अर्ब ३ करोड रुपैयाँको लागतमा सो स्मारक निर्माण गरिन लागिएको हो ।
५ वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको सो धामका लागि गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा उपलब्ध गराएको २४ लाख रुपैयाँबाट निर्माण कार्य शुरु गरिएको संस्थाका गण्डकी प्रदेश संयोजक होमनाथ तिमिल्सिनाले जानकारी दिए ।
प्रदेश सरकारले आव २०७६/७७ मा धाम निर्माणलाई निरन्तरता दिन १ करोड रुपैयाँ विनियोजन गरेको छ ।
राष्ट्रिय गौरवको आयोजना मध्य पहाडी लोकमार्ग खण्डमा पर्ने सो आश्रमको गुरुयोजनाअनुसार ५ सय जना क्षमताको सडक मानवता जागरण तालीम केन्द्र र बाल उद्यान निर्माण गरिने छ ।
त्यस्तै, प्रसिद्ध धार्मिक क्षेत्र मुक्तिनाथ जाने श्रद्धालु भक्तजनलाई सुविधा पुर्याउने उद्देश्यका साथ ३ सय क्षमताको ‘यात्री सेवा सत्तल’ लगायत विभिन्न आवश्यक भौतिक संरचना निर्माण गर्ने लक्ष्य राखिएको छ ।






