लोकसेवा आयोगले प्रकाशित गरेको विज्ञापन समावेशी सिद्धान्त विपरित भएको भन्दै नेपाल आदिवासी जनजाति महासंघ आन्दोलित बनेको छ । उसले आगामी साउन २ गते नेपाल बन्दको आव्हान गरेको छ ।
जिल्ला समन्वय परिषद्, कास्कीले पनि केन्द्रीय कार्यक्रम प्रति ऐक्येबद्धता जनाउँदै स्थानीय स्तरमा समेत दबाब दिने जनाएको छ । परिषद्ले सोमबार पोखरामा पत्रकार सम्मेलन गरी नेपाल बन्दको बारे जानकारी दिएको हो ।
साथै असार ३१ गते मंगलबार बेलुकी ५ बजे पोखराको सिद्धार्थचोकदेखि महेन्द्रपुलसम्म मसाल जुलुस निकाल्ने कार्यक्रम रहेको समेत परिषद्ले जनाएको छ ।
नेपालको संविधान (पहिलो संशोधन),२०७२ को धारा ४२ को उपधारा १ मा सामाजिक न्यायको हक मा स्पष्ट व्यवस्था भएर पनि सरकारले लोकसेवा आयोगको विज्ञापनमा देशमा रहेका हरेक तह र तप्कालाई अधिकारबाट बञ्चित गर्ने कुचेष्टा गरिएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद् कास्कीका अध्यक्ष धर्म बहादुर तमुले बताए ।
आन्दोलन कुनै द्वन्द्व,त्रासको लागि भन्दा पनि संविधानको रक्षाको लागि भएको उनले बताए । उनले भने ,“सरकारले संविधानमा भएको कुरालाई नै बेवास्ता गर्दै हटाउन खोजेको छ । त्यसैले कुनै द्वन्द्व,त्रासको लागि भन्दा पनि संविधानको रक्षाको लागि आन्दोलन गरेका हौँ ।”
सरकारले अव्यवस्थित, असमानुपातिक र एकल केन्द्रीकृत राज्यसत्तामा रहेका एकल जातिवादी हिसाबले विज्ञापन गरिएको समेत उनले आरोप लगाए ।






