वार्ताका लागि विप्लवका ३ शर्त, के के हुन् ?

विप्लव समूहका केही नेताहरु सरकारको सम्र्पकमा रहँदै आएका थिए । सरकारले सोमप्रसाद पाण्डेको नेतृत्वमा गठन गरेको वार्ता समितिको सम्पर्कमा आएका विप्लव समूहका नेताले वार्ताका लागि तीन सर्त राखेका थिए ।

आफूहरुमाथि लागेको प्रतिबन्ध फुकुवा, पक्राउ परेका सबै नेता–कार्यकर्ताको निःशर्त रिहाइ र आफूहरुलाई राजनीतिक पार्टीकै व्यवहार गर्दै कार्यक्रमहरु गर्न दिनुपर्ने माग उनीहरुले अघि सारेका थिए ।

सबाहेक वार्ताका लागि सरकारले सार्वजनिक रुपमा आह्वान गर्दै पत्र पठाउनुपर्ने उनीहरुको माग थियो । तर सरकारी समितिले पार्टीका महासचिव वा दोस्रो–तेस्रो वरीयतासम्मको नेतासँग भेट गराउनुपर्ने माग गरेका थिए ।

सरकारले गठन गरेको उच्चस्तरीय वार्ता समितिले विप्लव समूहलाई राजनीतिक रुपमै व्यवहार गर्नुपर्ने सरकारलाई सुझाव दिँदै आएको थियो । प्रहरी प्रधान कार्यालयका अनुसार ०७६ असार २९ गतेसम्म विप्लव समूहका ५८५ नेता कार्यकर्ता पक्राउ परेका छन् ।

जसमध्ये ५४३ जनाविरुद्ध मुद्दा दायर गरिएको छ भने ९६ जना पुर्पक्षका लागि जेल चलान भएका छन् । ६५ जना अनुसन्धानको क्रममा छन् भने तीनजनाको मुद्दा दर्ता गर्न बाँकी छ ।