नेपालीले अब युएई भ्रमण गर्न नपाउने !

संयुक्त अरब इमिरेट्स (युएई) ले नेपालीका लागि भ्रमण भिषा नदिने भएको छ । युएईले यो नियम यहि असार ३० गते सोमबारदेखि लागू गर्ने भएको छ ।

आवुदावी संयुक्त अरब इमिरेट्सस्थित नेपाली राजदूतावासले आइतबार एक सूचना जारी गर्दै असार ३० गतेदेखि नो अब्जेसन सर्टिफिकेट जारी नगर्ने जानकारी दिएको छ ।

सूचनामा भनिएको छ, ‘संयुक्त अरब इमिरेट्सको भ्रमणका लागि भिषामा आउन चाहने संयुक्त इमिरेट्समा कार्यरत नेपालीहरुका नजिकका नातेदारहरु (श्रीमान् वा श्रीमती, आमा, बुबा, ससुरा र छोराछोरी) लाई यस राजदूतावासबाट जारी गरिंदै आएको नो अब्जेशन सर्टिफिकेट (एनओसी) मिति २०७६/०३/३० गतेदेखि जारी नगरिने व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिन्छ ।’

यो भिषामा रोक लगाउने कारण भने केही खुलाइएको छैन । राजदूतावासको यो निर्णयको विरोध पनि भएको छ । साथै निर्णय फिर्ता लिन माग समेत गरिएको छ ।

योगेन्द्र थापाले यसको विरोध गर्दै फेसबुकमा लेखेका छन्, ‘दूतावास को यो निर्णय ठिक लागेन । यसले गर्दा दलाल र यो ब्यबसाय गरेकाहरुलाइ धक्का लागे पनि वास्तविक रुपमै आफ्ना आमा बुबा श्रीमती छोराछोरी समेत ल्याउन नपाउने भन्ने निर्णय चैं उचित लागेन। दूतावास ले यो निर्णय सच्याउनु पर्छ । नत्र यसको फाइदा बेफाइदा सर्वसाधारण लाइ जानकारी गराउनु पर्छ । अध्यारोमा तिर नहानियोस् ।’