यस्तो पनि खुशी…..

अविरल वर्षाका कारण देशभर तनाव भइरहेका बेला दिपायलका किसान भने खुशी भएका छन् । लामो समयपछि डोटीको दिपायलमा वर्षा शुरु भएको छ ।

यहाँका ग्रामीण क्षेत्रमा केही दिन पहिलेदेखि वर्षा भइरहे पनि दिपायलमा भने अहिलेसम्म वर्षा भएको थिएन । शनिबार बिहानदेखि दिपायल तथा आसपासका क्षेत्रमा मुसल्धारे पानी परेपछि यहाँका किसान निकै हर्षित भएका छन् ।

वर्षा नहुँदा खडेरीले दिपायल, पिपल्ला, कुल्पोते, सुनगडालगायतका क्षेत्रका किसानले धानको बीउसमेत राख्न पाएका थिएनन् । वर्षाले खेतमा पानी भरिएपछि किसान बीउ राख्न पाउने आशमा खुशी भएको दिपायल गैराका किसान लालबहादुर विकले बताए ।

उनले भने, “पानी नपर्दा धानको बीउ राख्न नपाएर खेत बाझै हुन्छ कि भन्ने पीरमा थियौँ, बल्ल पानी शुरु भयो, अब बीउ राखेर रोपाइँ गर्छौँ ।” लगातारको वर्षाका कारण यहाँका स्थानीयहरू बिहानदेखि घरबाहिर निस्किन सकिरहेका छैनन् ।

त्यस्तै खडेरीले यहाँका किसानले लगाएका मकैबाली पानी नपर्दा सुक्न थालेका थिए । पानी पर्न थालेपछि सुक्न लागेका मकैसमेत जागेर आउनेमा किसान खुशी भएका छन् । दिपायल क्षेत्रमा वर्षा भएपछि यहाँका किसानहरू बिहानैदेखि मुसलधारे पानीमै भिजेर भए पनि आ–आफना खेतमा धानको बीउ राख्न थालेका छन् ।

यता लगातारको वर्षाका कारण यहाँबाट तराई जाने तथा तराईबाट अछाम, बाजुरा जानका लागि आएका गाडी दिपायलको पिपल्ला बजारमा थन्किएका छन् ।

वर्षाका कारण यहाँका खोलानालामा उच्च बाढी आएका कारण सबैलाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय डोटीले आग्रह गरेको छ ।

डोटीका प्रमुख जिल्ला अधिकारी पौडेलले खोलानालामा उच्च बाढी आएकाले घरबाहिर ननिस्कन तथा खोला छेउमा नजान सबैलाई आग्रह गरेको बताए । उनले भने, “लामो समयपछि दिपायल तथा आसपासको क्षेत्रमा वर्षासँगै बाढी आएको छ, सबैले सर्तक अपनाउनुपर्ने बेला आएको छ ।”