प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लवका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली गत चैत ९ गते काभ्रेबाट पक्राउ परेका थिए । उनीमाथी विभिन्न अभियोगमा सरकारले मुद्धा लगाएको छ।
जेलमा रहेका उनलाई गत असार १९ गते सत्तारुढ दल नेकपाका महासचिव विष्णु पौडेलले जेलमै पुगेर गोप्य भेटवार्ता गरेका छन्। प्रधानमन्त्री केपी ओलीकै निर्देशनमा पौडेल सुर्दशनलाई भेट्न जेल पुगेका हुन्। सरकारले चन्द नेतृत्वको पार्टीसँग वार्ता र सम्वाद थाल्न चाहेको र त्यसको वातावरण निर्माणका लागि प्रधानमन्त्री ओलीले जेलमै रहेका सुर्दशनमार्फत पहलकदमी लिन लगाउनका लागि पौडेललाई खटाएका थिए।
त्यही आधारमा पौडेल नख्खु कारागार पुगेका थिए। पौडेलले कार्यालय समय बितिसकेपछि साँझ नख्खु पुगेर सुर्दशनसँग झण्डै ढेड घण्टा लामो छलफल गरेका थिए। नख्खु कारागार पुग्नु अगाडी पौडेलले जेलरलाई टेलिफोन गरी आफू कारागार आउन लागेको सूचना दिएर पुगेका थिए। कारागार पुगेपछि पौडेलले जेलरकै रुपमा बन्दी जीवन बिताईरहेका विप्लवका नेता सुर्दशनलाई ल्याउन आग्रह गरेका थिए। त्यसपछि जेलरका कोठामा ल्याईएका सुर्दशनसँग जेलरलाई समेत बाहिर निकालेर पौडेल र सुर्दशनबीच झण्डै ढेड घण्टा लामो सम्वाद भएको थियो।
यो सम्वादलाई अहिले सत्तारुढ दल मात्र होइन, स्वयम् विप्लवको पार्टीले निक्कै अर्थपूर्ण रुपमा लिएको छ। पौडेल सरकार र विप्लव नेकपाबीचको वार्ताको वातावरण निर्माणका लागि प्रधानमन्त्रीको दुतका रुपमा जेल पुगेका थिए। यस अगाडी पनि प्रधानमन्त्री ओलीले विखण्डनको नारा लगाउँदै आएका सिके राउतसँगको सम्वादका लागि पनि पौडेललाई सम्र्पक दुतका रुपमा परिचालन गरेका थिए। विप्लव नेकपाले सरकारले आफ्ना केही शर्त पूरा गरेको खण्डमा वार्तामा बस्न तयार भएको सन्देश सरकारका विभिन्न निकायमार्फत प्रधानमन्त्री कहाँ सूचना पुगेपछि ओलीले जेलमा रहेका सुर्दशनलाई भेटी अवस्था बुझ्न महासचिव पौडेललाई खटाएका थिए।
अहिले हेमन्तप्रकाश ओलीसँगको भेटका लागि पुग्नेहरु माथीको निगरानीमा अहिले अलिक लचक नीति सरकारले लिएको छ। त्यस्तै आवश्यक पर्दा मोबाइल प्रयोग गर्न दिनसमेत महासचिव पौडेलले जेलरलाई निर्देशन दिएर फर्केको स्रोतको भनाई छ। सरकारसँग वार्ताका लागि विप्लव पार्टीले तीन शर्त अगाडी सारेको छ। पहिलो पार्टीमाथी लगाईएको प्रतिबन्ध हटाउनुपर्ने, दोश्रो बन्दी बनाईएका आफ्ना नेता कार्यकर्ताको रिहाई गर्नुपर्ने र तेश्रो वार्ताका लागि सरकारका तर्फबाट पार्टीलाई औपचारिक पत्र लेख्नुपर्ने।
विप्लवको पार्टीको पछिल्लो नेताहरुको बैठकमा पार्टी्भित्रै वार्ताको दबाब महासचिव विप्लवमाथी परेको थियो। त्यो क्रममा विप्लवको पार्टीले सरकारले आफ्ना केही शर्त पूरा गरे वार्तामा बस्न सकिने गरी नीति तय गरेको थियो।




