कस्ले जित्ला विश्वकप ?

आइतबार लन्डनस्थित लार्ड्समा हुने फाइनलमा न्युजिल्यान्ड र इंग्ल्यान्ड मध्ये जुन टिम विजयी भए पनि विश्वकपले नयाँ च्याम्पियन पाउनेछ।

विश्वकपको जन्मदाता इंग्ल्यान्डले यसअघि तीन पटक फाइनलमा स्थान बनाएपनि उपाधि जित्न सकेको थिएन। इंग्ल्यान्ड सन् १९७९ को फाइनलमा वेस्ट इन्डिजसँग हारेको थियो।

यस्तै १९८७ र १९९२ को फाइनलमा स्थान बनाए पनि इंग्ल्यान्ड उपविजेतामै सीमित बन्यो। इंग्ल्यान्डलाई १९८७ मा अस्ट्रेलिया र १९९२ मा पाकिस्तानले हराए।

न्युजिल्यान्डले सन् २०११ को विश्वकपसम्म फाइनलमा स्थान बनाउन सकेन। सन् २०१५ मा भने न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुग्यो। पहिलो फाइनलमा छिमिकी प्रतिद्वन्द्वी अस्ट्रेलियासँग ७ विकेटले पराजित हुँदा न्युजिल्यान्डले नयाँ च्यम्पियन बन्ने अवसर गुमाएको थियो।

‍विश्वकपको ४४ वर्षको इतिहासमा अहिलेसम्म पाँच टिमले मात्र उपाधि जित्ने अवसर पाएका छन्। सन् १९७५ मा इंग्ल्यान्डबाट सुरु भएको विश्वकपको अस्ट्रेलियाले सर्वाधिक पाँच पटक (१९८७,१९९९, २००३, २००७ र २०१५) उपाधि जितेको छ।

वेस्ट इन्डिज (१९७५र १९७९) र भारत (१९८३ र २०११) २-२ पटक च्याम्पियन बनेका छन्। पाकिस्तान (१९९२) र श्रीलंका (१९९६) ले १-१ पटक उपाधि उचाल्ने अवसर पाएका छन्। अब न्युजिल्यान्ड र इंग्ल्यान्डमध्ये एक टिम छैटौं विश्वविजेता बन्नेछ। 

लिग चरणमा श्रीलंका र अस्ट्रेलियासँग लगातार पराजित हुँदा इंग्लिस टिम दबाबमा परेको थियो। इंग्ल्यान्डलाई अघिल्लो चरणमा पुग्न भारत र न्युजिल्यान्डविरुद्ध दुवैलाई पराजित गर्नु पर्ने अवस्था आएको थियो। दुवै खेलमा इंग्ल्यान्ड सफल भयो।

सेमिफाइनलमा अस्ट्रेलियामाथि हाबी देखिएको इंग्ल्यान्डलाई उपाधिको दाबेदार मानिएको छ। किनकी इंग्ल्यान्डले पछिल्ला तीन खेलमा भारत, न्युजिल्यान्ड र अस्ट्रेलियालाई जस्ता उच्च वरीयताका टिमलाई हराएको छ। जसले इंग्लिस टिममा आत्मविश्वास बढेको छ।

न्युजिल्यान्डलाई पनि कमजोर आँक्न मिल्दैन। किनकी उसले विपक्षीविरुद्ध जस्तोसुकै अवस्थामा भिड्न सक्ने खुबी दखाइसकेको छ। भारतविरुद्ध २४० रनको लक्ष्य ‘डिफेन्ड’ गरेर न्युजिल्यान्डले आफ्नो क्षमता प्रमाणित गरेको छ। न्युजिल्यान्डको मुख्य हतिहार कप्तान केन विलियसन हुन्।

वर्तमान समयका उत्कृष्ट ब्याट्सम्यान विलियमसन बाहेक तीव्र गतिका बलरले न्युजिल्यान्डलाई अघि बढाइरहेका छन्। ट्रेन्ट बोल्ड, लकी फर्ग्युसन र मार्ट हेरनी जस्ता तीव्र गतिका बलरको हातमा नयाँ बल हुँदा विपक्षी ब्याट्सम्यानलाई दबाब झेल्न गाह्रो हुने देखिन्छ।

भलै मार्टिन गुपटिल चल्न सकेका छैनन्, तर उनी आक्रामक ब्याट्सम्यान र उत्कृष्ट फिल्डर भएकोमा शंका छैन। रोश टेलर मिडल अर्डरका भर पर्दा ब्याट्सम्यान हुन् जसले न्युजिल्यान्डलाई सझै भरोसा दिन सक्छन्।

यो अवस्थामा इंग्ल्यान्डलाई विश्वकप जित्न साँच्चै गाह्रो पर्छ। यद्यपी इंग्लिस टिमलाई जारी विश्वकपकै सन्तुलित टिम मानिएको छ। जसले विश्वकपको जन्मदातालाई पहिलो उपाधिको स्वाद चखाउन सक्छ।

ओपनर जासन रोएदेखि जोन बायरस्टो, जोए रुट अनि कप्तान इयान मोर्गान हुँदा इंग्लिस टिमको ‘टप अर्डर’ मजबुत बनेको छ। अलराउन्डर बेन स्टोक्स अनि जोस बटलरले इंग्लिस टिममा शक्ति भर्नेछन्। युवा बलर जोफ्रा आर्चरदेखि क्रिस ओएक्स र जोन उडले इंग्लिस बलिङ आक्रमणलाई तेज बनाइरहेका छन्।

खेलाडी र टिमको लेखाजोखा गर्दा उत्कृष्ट दुई टिम फाइनलमा पुगेका छन्। बलिया टिमबीचको उपाधि भिडन्त रोमाञ्चक बन्ने नै छ। तर यो विश्वकपको राम्रो पक्ष भनेको विश्व क्रिकेटले नयाँ च्याम्पियन पाउनु नै हो।