हिरासत तोडेर भागेका कैदी पक्राउ

महानगरीय प्रहरी प्रभाव भैसेपाटीको हिरासतबाट मंगलबार फरार भएका २ कैदीलाई प्रहरीले २४ घण्टा नवित्दै पक्राउ गरेको छ । महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार उनीहरुलाई काठमाडौंस्थित बौद्धको जम्बुडाँडाबाट पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले बताए ।  

उनीहरू मंगलबार राती रेलिङ काटेर भागेका थिए । पक्राउ पर्नेमा शम्शेर माझी र रुद्रलाल श्रेष्ठ रहेका छन् । मंगलबार  हिरासतबाट भाग्नेमा शम्शेर माझी, रुद्रलाल श्रेष्ठ र रविकुमार तिमल्सिना रहेको प्रहरीले जनाएको छ। भागेका तिमल्सिना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

जाउलाखेल हिरासतमा राख्ने ठाउँ नपुगे पछि उनीहरुलाइ भैसेपाटीमा राखिएको थियो । दुई जना फरार अभियुक्त डाँका मुद्दाका र एक जना लागु औषध मुद्दाका अभियुक्त हुन् । पक्राउ परेकाहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।