मिडिया काउन्सिल विधेयकमा जुट्यो सहमति

नेपाल पत्रकार महासंघले आन्दोलन फिर्ता लिएको छ । सरकारले राष्ट्रियसभामा प्रस्तुत गरेको मिडिया काउन्सिलविधेयकको विरुद्धमा आन्दोलनमा रहेको महासंघले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलको प्रतिवद्धतापछि आन्दोलन फिर्ता लिएको हो ।

नेपाल पत्रकार महासंघ सडक आन्दोलनमै उत्रिएपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले महासंघलाई बार्तामा बोलाएका थिए । नेम्वाङको पहलकदमीपछि भएको ३ चरणको वार्तापछि मंगलबार सहमति जुटेको हो ।

बैठकमा नेता नेम्वङले महासंघले उठाएको मागप्रति नेकपा सहमत रहेको भन्दै आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए ।

नेकपाको तर्फबाट राष्ट्रिय सभाका प्रमुख सचेतक खीमलाल भट्टराईले महासंघले उठाएको मागप्रति आफूहरु सकारात्मक रहेको लिखित पत्र दिई आन्दोलन फिर्ता लिन प्रस्ताव गरेका थिए । सो प्रस्तावपछि आन्दालेन फिर्ता भएको हो ।

‘महासंघको मुद्दामा सहमति जुट्यो, आन्दोलनको कायक्रम फिर्ता लिइएको छ,’ वार्तापछि महासंघका अध्यक्ष गोविन्द आचार्यले भने ।

वार्ता टोलीमा सहभागी उपाध्यक्ष बिपुल पोखरेल, महासचिव रमेश बिष्ट, सचिव उदय जिएम, सदस्य जानुका बराल र यम बिरहीले पनि सहमतिपछि महासंघको आन्दोलन फिर्ता भएको जानकारी दिए ।

वार्तामा संसदीय दलका उपनेता नेम्वाङसहित नेकपाका महासचिव विष्णु पौडेल, कानून मन्त्री भानुभक्त ढकाल, नेकपाका नेता योगेश भट्टराई, प्रमुख सचेतक राष्ट्रिय सभामा खीमलाल भट्टराई कृष्णगोपाल श्रेष्ठ, नवराज सिलवाललगायत सहभागी थिए ।