प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) ले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका सर्लाही इञ्चार्ज कुमार पौडेलको मृत्युको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गरेको छ ।
गृहमन्त्री रामबहादुर थापाले लोकतन्त्रको रक्षाका लागि गोली चलाउँदा पौडेलको मुठभेडमै मृत्यु भएको जवाफ संसदमा दिएपछि कांग्रेस र राजपाले संसद वैठक नै अवरुद्ध पारेका छन् ।
गृहमन्त्रीले दिएको जवाफ चित्तबुझ्दो नभएको भन्दै प्रतिनिधिसभा बैठकमा मंगलबार कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले मुठभेडमा पौडेलको मृत्यु भएको भए हात भाँचिएका पौडेलले कसरी हतियार चलाए ? भन्ने प्रश्न गरेका थिए ।
गृहमन्त्रीले जवाफ दिएपछि प्रश्न सोध्न नपाइने भन्दै सत्तारूढ नेकपाका सांसद खगराज अधिकारीले नियमापत्ति जनाएका थिए । लगत्तै कांग्रेसलगायत प्रतिपक्षी दलले घटनाबारे छानबिनको माग गर्दै संसदीय समिति गठन गर्न माग गरेका थिए ।
उनीहरूले संसदीय समिति गठन गर्न नाराबाजी गरेपछि सभामुख कृष्णबहादुर महराले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् ।






