आगामी आउन महिनादेखि सरकारले लागू गर्न लागेको अनलाईन ट्याकिङ सिस्टम (भिसिटिएस) प्रति अधिकृत विक्रेता संघ पोखराले असहमति जनाएको छ ।
नयाँ नीतिको विरोधमा संघले साउन १ गतेदेखि समान होम डेलिभरी गर्न नजाने र दुकानमा आउने ग्राहकलाई मात्र विक्री वितरण गर्ने निर्णय गरेको छ ।
साथै संघले नेपाल वितरक महासंघ पोखरा उद्योग वाणिज्य संघलाई पत्र पठाउँदै यो नीति तत्काल खारेज गर्न या रोक्न पहल गरिदिन आग्रह गरेको छ ।
संघका महासचिव मनोजकुमार श्रेष्ठले महासंघलाई पत्र पठाउँदै अनलाईन ट्याकिङ सिस्टम दीर्घकाललिन रुपमा राम्रो भए पनि तत्कालका लागि कार्यान्वयनमा जान समस्या हुने दावी गरेको छ । पत्रमार्फत संघले नयाँ सिस्टम साना तथा स्थानीय यवसायीका लागि हितकर नभएको भन्दै यस विषयमा महासंघले पहल गरिदिन आग्रह गरेको छ ।

‘अनलाइन ट्याकिङ सिस्टममा गाडी, चालक, क्रेता, विक्रेता, स्थान, विक्री वितरण गर्ने समान सबैको यथार्थ विवरण हुन्छ’, संघका पूर्व अध्यक्ष सुरेज अधिकारीले भने, ‘यो सिस्टम उद्योगी, ट्रान्सपोर्टहरूका लागि उपयुक्त होला तर स्थानीय व्यापारीका लागि हितकर छैन ।’
संघका महासचिव श्रेष्ठले सरकारले नयाँ नयाँ सिस्टम लागु गरेर साना व्यवसायीलाई पलायन गर्न लागेको बताए । उनले मुलुकमा समृद्धिको कुरा गर्ने सरकारले यस्ता नीति ल्याएर समृद्धि नआउने स्पष्ट पारे ।






