प्रस्याङको लायन्स चिल्ड्रेन पार्क स्तरोन्नति हुने

पोखरा महानगरपालिका–५ स्थित प्रस्याङ उद्यानको स्तरोन्नति गर्न योजना अघि बढाइएको छ । ‘लायन्स चिल्ड्रेन पार्क’ को नामबाट चिनिने उक्त उद्यान २०७४ सालदेखि स्थानीय सरकारको मातहतमा आएको हो ।

उद्यान सञ्चालक समितिका संयोजक एवं वडा नं ५ का सदस्य अञ्जु केसीका अनुसार उद्यान पुनःनिर्माणका लागि शिवप्रसाद पराजुलीको अध्यक्षतामा १३ सदस्यीय निर्माण समिति गठन गरिएको छ ।

झण्डै ९ रोपनी क्षेत्रफलमा आकर्षक फूलबारी, शिवालय, ज्येष्ठ नागरिक दिवा सेवा, बालबालिकाका लागि आकर्षक उद्यान, कलात्मक पानीको फोहोरा, अपाङ्गमैत्री शौचालयलगायत संरचना निर्माण गरिनेछ ।

उद्यानको विस्तृत योजना प्रतिवेदन (डीपीआर)का लागि वन तथा वातावरण मन्त्रालयले ६० तथा पोखरा महानगरपालिकाले ४० प्रतिशत रकम उपलब्ध गराउने सम्झौताअनुरुप काम अघि बढाइएको पोखरा–५ का वडाध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए ।

उद्यानको हरियाली कार्यक्रमका लागि जिल्ला वन कार्यालयले रु ३० लाख उपलब्ध गराएको छ । पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु १० लाख र भौतिक योजना तथा पूर्वाधार मन्त्रालयले रु ३ लाख सहयोग गरेको छ ।

महानगरले आगामी आवको बजेटमा रु ५० लाख विनियोजन गरेको छ । व्यवस्थित उद्यान निर्माणका लागि झण्डै रु ५ करोड लाग्ने अनुमान गरिएको छ ।