नेपाल यातायात स्वतन्त्र मजदूर संगठन राष्ट्रिय फलफूल ढुवानी इकाइका मजदूरहरू आइतबार पोखरा–१७ छोरेपाटस्थित मानव सेवा आश्रम पुगे । त्यहाँ पुगेर निकै शान्त र आनन्दमय वातावरणमा आश्रममा आश्रित नागरिकका लागि १ छाक खानाको साथमा नगद ६ हजार रुपैयाँ सहयोग गरे ।
त्यस लगत्तै आफ्नो कार्यालय फर्किएर केक काटेर खुशी साँटासाँट गरे । इकाइ स्थापना भएको १९ वर्षको अवसरमा उनीहरूले यस्तो कार्यक्रम गरेका हुन् ।

विद्याश्रममा आयोजित खाना खुवाउने तथा सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल यातायात स्वतन्त्र मजदूर संगठनका केन्द्रीय सचिव तथा गण्डकी प्रदेश सहइन्चार्ज विष्णुबहादुर पराजुलीले मजदूरले हक अधिकार अझै पनि हनन भइरहेको बताए ।
उनले बढ्दो महंगीले मजदूर टिक्न नसक्ने अवस्थामा पुगेको समेत स्पष्ट पारे । उनले मजदूरको हक अधिकारका लागि संगठनले अझै प्रभावकारी काम गर्न आवश्यक रहेको बताए । मजदूरले पसिना बगाएर कमाएको थोरै रकम सामाजिक कार्यमा खर्च गरेकोमा उनले खुशी प्रकट गरे ।
राष्ट्रिय फलफूल तथा तरकारी बजार इकाइका अध्यक्ष छेवाङ लामाले व्यापारी र मजदूर बीच एकता आवश्यक रहेको बताए ।

इकाइ इन्चार्ज मेघबहादुर न्यौपानेले मजदूरमारा प्रवृत्ति अझै पनि कायम रहेको भन्दै त्यस विरुद्ध मजदूर एकतावद्ध हुन आवश्यक रहेको स्पष्ट पारे । उनले मजदूर पनि सामाजिक कार्यमा अग्रसर हुन्छन् भन्ने पुष्टि वार्षिकोत्सव कार्यक्रमले स्पष्ट पारेको बताए ।
आश्रमको विविध गतिविधिबारे जानकारी गराउँदै आश्रमका सहसंयोजक राजन सापकोटाले मजदूरको पसिना बगाएर कमाएको केही अंश सहयोग गर्नु निकै सराहनीय भएको बताए । उनले मानव भएर जन्मिसके mपनि मानवकै लागि केही न केही गर्नुपर्नेमा जोड दिए ।
राष्ट्रिय फलफूल ढुवानी इकाइका अध्यक्ष अर्जुन भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार हरि पन्त र इकाइ सचिव भेषराज अधिकारीले बोलेका थिए ।

२०६९ सालमा हेटौंडाबाट शुरु भएको आश्रमका हाल पोखरासहित ९ वटा शाखा सञ्चालनमा छन् । आश्रममा हाल ८ सय नागरिक आश्रित छन् भने २ हजार बढीले आश्रमको सेवा पाइसकेका छन् ।
गोरखा आश्रममा भने ४५ जना बालबालिका आश्रिम छन् । आश्रमले हालसम्म ८ सय जनालाई पारिवारिक पुनर्मिलन गराइसकेको छ । आश्रम हालसम्म दाताकै सहयोगमा सञ्चालन हुँदै आएको छ ।
सडकपेटीमा रहेका जुनसुकै नागरिकलाई आश्रमले सेवा गर्दै आएको आश्रमका सहसंयोजक राजन सापकोटाले जानकारी दिए । उनका अनुसार हरेक मंगलबार र शुक्रबार बजार क्षेत्रमा रात्रिकालिन गस्ती गरिने र सडकमा अलपत्र परेका नागरिकलाई उद्धार गरेर आश्रममा लागेर राखिनेछ ।
वि.सं. २०८२ सम्ममा देशभर सडक नागरिक अन्त्य गर्ने अभियानमा आश्रम लागेको उनले बताए । उनका अनुसार तरकारी, मरमसला र औषधिबाहेक अन्य सामग्री दाताकै सहयोगले पुग्ने र आश्रममा मासिक ७ लाख रुपैयाँ खर्च हुन्छ ।
छोरेपाटनस्थित आश्रम मासिक ८० हजार रुपैयाँ भाडामा सञ्चालन गरिरहेको जानकारी दिंदै आश्रम संयोजक होमनाथ तिमिल्सिनाले हेमजामा ६३ रोपनी जग्गा प्राप्त भइ भवन निर्माण भइरहेको बताए । छोरेपाटनद आश्रममा हाल ९० जना मानिस आश्रित छन् ।






