मिहेनत साथ पढ्नु, उच्च अंकमा पास गर्नु र पढाईको ईज्जत राख्नु तपस्या , साधना र त्याग हो। मान्छेलाई गिदी घुसाईदिएको यसको अधिकतम उपयोग गर , अध्ययन चिन्तन-मनन गर, नविन आविष्कार गरेर आफ्नो, समाज मुलुक र विश्वको यावत सुखसुबिधा बढाउ भनेर हो।
सर्टिफिकेट च्यात्ने, बुर्जुआ शिक्षा भन्दै टाउको गिड्दै हिड्नेहरूले शिक्षा के हो? बिज्ञान के हो? प्रविधि के हो? अनुसंधान र प्रविधिको ताकत के हो? घोर तपस्या गर्ने, पढन्तेबिना यी सबै बुझ्न संभव छैन भन्ने जान्न एक जुनिमा मात्र हैन तिनले ७ जुनिमा पनि सक्दैनन्।
जति वटा विश्वविद्यालय होलान्, त्यो बराबर एक मुलुक अमेरिकामै होलान्। अनि अमेरिका, जापान, सिंगापुर, चीन , कोरिया , बेलायत, फ्रान्स, स्विट्जरल्याण्ड र सबै युरोपीय मुलक किन समृद्ध र शक्तिशाली भएका होलान्, यो जान्न ती मुलुकहरूमा हप्तौं बरालिनै पर्दैन।
जुन मुलुकमा विद्वान र शिक्षितलाई चारपासेले उपदेश दिन्छ र चारपासे आठपासेलाई नेता मान्नुपर्ने हुन्छ, त्यो मुलुक ७ जुनिमा पनि समृद्ध हुन सक्दैन। वैदिक काल भनेको ज्ञानयुग थियो ( वेद माने ज्ञान) र अहिले पश्चिमाको ज्ञानयुग वा डिजिटल युग वा डेटा अर्थतन्त्रको युग चलिरहेको छ। तर , यी सब कुरा बुझ्न खोपडी चाहिन्छ। बचेखुचेको, भएको खोपडी औषधिले खियाई सकेको प्रतीत हुन्छ।
स्वाहा: तर युवा मित्रहरू, यी चारपासेको कुरा हाँसीमजाकका लागि सुने पनि गंभीर नहुनुहोला, यी उपदेश दिने लायक छैनन्,आदर्शलायक छैनन्, कबाडी हुन्। खुब तपस्या र साधनाका साथ पढ्ने, अध्ययन गर्ने गर्नुहोला। कबाडीको खोपडी कबाडी नै हुन्छ, आफ्नो गिदीलाई अधिकतम खुराक दिनुहोला। मान्छेको जुनि यही खोपडीलाई सुसंस्कृत, संस्कारित र शिक्षित बनाएर लोकको हित गर्नका लागि नै हो।
खोपडी प्रोसेसर ड्यामेज, ड्राईभ करप्टेड भएकाहरूको कुरा सुनेर समयको बर्वादी नगर्नु होला। पढ्ने, चिन्तनमनन गर्ने , त्यसलाई अधिकतम लोकहितको लागि उपयोग गर्नेमा कुनै द्विबिधा नपाल्नु होला ।
प्राचीन गुरूकूल शिक्षा प्रणालीबारे यसो बुझ्न प्रयास गर्नुहोला- सही, संस्कारित, सुसंस्कृत, अनुशासित, जिम्मेवार, नैतिक, स्वावलम्बी र शिक्षित कसरी भईन्छ! संस्कारबिहीन र संस्कृतिबिहीनहरूको गफमा नबहकिनु होला ! आफूमा भएको गिदीको क्षमताले नै तपाईका हातगोडा सही ढंगमा गिदीसंग सिंक्रोनाईज गरेर सही ढंगमा चलाउने संस्कार पनि सिक्नुहोला। यसका लागि अनुकूल उपयुक्त संस्कृति बिद्यामान हुनुपर्छ, सही संस्कृति निर्माण गर्नपट्टि पनि साथसाथै लाग्नुहोला।
लेखक नेपाल सरकारका पूर्व सचिव हुन्।




