जसरी यो संसार दया मायाले चलेको छ, त्यसैगरी डाक्टर साबहरूमा पनि विरामीप्रति दयामाया हुनुपर्दछ भन्ने मेरो मन–भावना थियो तर सबैमा यो खोज्नु र पाउन नसक्नु पनि संसार अथवा समाजको परिस्थिति बनिदिंदोरहेछ ।
म एउटा साधारण व्यक्ति हुँ । मेरो स्वास्थ्य त्यति राम्रो छैन । समय–समयमा डाक्टरसाबहरूसँग जँचाएर औषधि सेवन गर्नुपर्ने भइराख्छ । म मेरो उपचारको क्रममा धेरै डाक्टर साबहरूसँग स्वास्थ्य जाँच गरी सल्लाह सुझाव लिन पुगेको छु ।
मैले दार्जिलिङ, शिलगुरी, नेपालमा पनि पोखरा र काठमाडौँसम्मका वरिष्ठ डाक्टरसाबहरू पनि भेटेको छु । यस्तै मेरो स्वास्थ्य जाँच गराउने क्रममा डाक्टर कुमार शमसेर राणाज्यूसँग पनि भेट्ने अवसर मिल्यो ।
मैले उहाँलाई पहिला भेट्दा उहाँको उमेर निकै भएको महसूस गरें । मैले आफ्नो जचाउने पालो कुरेर बसिरहेका बेलामा म भन्दा पहिला पालो परेका बिरामीहरूलाई जाँच गर्ने उहाँको तरिका देखेर अति खुसी लाग्यो । उहाँ पाको उमेरको भए पनि आफ्नो पेशामा निरन्तरता दिनुभएको देखेर मलाई पनि उहाँको शक्ति थपिएको भान भयो ।
उहाँले बिरामीलाई देख्ने बित्तिकै दया, माया देखाएर, बिरामीको घरमा वातावरणको बारेमा सोधेर, उनीहरूको अवस्था बुझेर, उनीहरूलाई सहानुभूति दिंदै उनीहरूको अवस्था हेरी औषधि लेखिदिनुभएको बेला म प्रत्यक्ष सामेल हुन पाएको छु ।
उहाँले बिरामीका सबै कुरा आफ्नै मान्छे हुँ भने जस्तै गरी सुनेर, बिरामीप्रति दया–माया, करुणा जगाएर सल्लाह सुझाव दिनुका साथै बिरामीलाई खुसी बनाउन हाँसो–ठट्टा पनि गरर बिरामीलाई हौसला बढाउँदै उपचार गरिदिनुभएको पनि देखें ।
उहाँसँग जाँच गराउन म जस्तै धेरै बिरामी आउने गरेको पनि मैले थाहा पाएँ । मलाई यो पनि ज्ञान भयो कि उहाँले दया–मायाका साथ बिरामीको उपचारमा जुट्नुको कारण उहाँले पैसा कमाउने उद्देश्यभन्दा पनि नागरिकका लागि सहयोग पुर्याएर समाजसेवा गरिरहनु भएको देखियो ।
हुन त उहाँ जस्ता डाक्टर साबहरू अरु पनि हुनुहोला मैले सबै डाक्टर साबहरूसँग भेट्ने अवसर त पाएको छैन तर डाक्टर कुमार शमसेरसँग म जटिपटक स्वास्थ्य जाँच गर्न जाँदा पनि सधै शिष्टता, नम्रता, आफन्तको व्यावहार गरेको पाउँछु ।
त्यसैकारण म बिरामी हुँदाहुँदै पनि उहाँसँग भेट्न पाएकोमा भाग्यमानी ठान्दछु । हुन त म एक साधारण शिक्षक हुँँ । मलाई म को हुँ ? नाम के हो ? कुन समाजको? कुन धर्म मान्ने मान्छे भन्ने कुरामा महत्व दिन मन लाग्दैन तर म आफू साधारण व्यक्ति भए पनि कुमार शमसेर राणा डाक्टरसाबलाई हृदयदेखि नै अति सम्मान प्रकट गर्दछु ।
साथै डाक्टर साबहरूले बिरामीप्रति दया, माया देखाएर आत्मीय व्यवहारका साथ बिरामी जाँच ग¥यो भने पैसा खोज्न जान पर्दाेरहेनछ, पैसाले नै डाक्टरसाबहरूलाई खोजन आउँदो रहेछ भन्ने कुराको चरितार्थ भएको अनुभव पनि गरें । म उहाँको यस्तो व्यावहारिक सेवा निरन्तर पाउने आशा राख्दै कुमार शमसेर राणा डाक्टरसाबको सु–स्वास्थ्य र दीर्घायूको मङ्गलमय शुभकामना व्यक्त गर्दछु ।




