महानगरको योजना–‘मेयर कप’

पोखरा महानगरपालिकाले आर्थिक वर्ष २०७६÷७७ को लागि ल्याएको बजेटमा खेलकुदको पुर्वाधार तर्फ बजेट छुट्टाउँदा खेलकुद गतिविधिको लागि पनि सामान्य बजेट भने विनियोजन गरेको छ । महानगरपालिकाले अल्टिच्युड खेल मैदान निर्माण गर्न, गोस्ते खेल मैदान लामाचौर, भण्डारढीक खेल मैदान, विजयपुर र आर्वामा खेल ग्राम निर्माणको पुर्वाधारको लागि बजेट छुट्टाईएको छ । त्यस बाहेक महानगरपालिकाले यसै वर्षदेखि मेयर कप खेलकुद प्रतियोगिता गर्ने योजना बुन्दै त्यसको लागि छुट्टै बजेट राखेको छ । विभिन्न स्थानीय तहमा मेयर एवं मुख्य मन्त्री कप विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिदैं आएको छ । तर पोखरामा दुवै(मेयर तथा मुख्यमन्त्री कप) प्रतियोगिता आयोजना गर्न सकिएको छैन् । ‘अब महानगरपालिकाले आफनै मेयर कप नाममा खेलकुद गतिविधि सञ्चालन गर्ने योजना छ ।’ महानगरपालिका मेयरका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने–‘खेलकुदका संघसंस्थासँग समन्वय गरेर आयोजना गरिने छ ।’

मेयर कप खेलकुद कार्यक्रमको लागि २०लाख रुपैयाँ छुट्टाईएको छ । त्यसैगरी अन्तर वडा तथा नगरस्तरीय सामाजिक विकास तथा खेलकुद कार्यक्रमको लागि ३० लाख र युवा तथा खेलकुद सशर्त अनुदानमा ९ लाख रुपैयाँ छुट्टाईएको छ । महानगरले विविध खेलकुद कार्यक्रममा आफनो सहभागिता जनाउन २० लाख रुपैयाँ छुट्टाएको छ । गत वर्ष महानगरपालिकाले बाग्लुङमा आयोजित मेयर कप फुटबल प्रतियोगिता, नुवाकोटमा आयोजित फुटबल प्रतियोगिता, इटहरीमा आयोजित राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता लगायतका विभिन्न खेलुकद प्रतियोगितामा सहभागिता जनाएर घरेलु टोली फर्किएको थियो ।

महानगरले पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन मात्रै नभई खेलकुदको समृद्धि शहर र स्वास्थ्य नागरिकको अभियान अन्तर्गत एक वडा एक खेल मैदान निर्माणको अभियान पनि शुरु गरिसकेको छ । त्यसको लागि एक करोड रुपैयाँ राखेको छ । पार्कहरुमा खुल्ला व्यायामशालाको सामानहरु राखेर सर्वसाधारणलाई व्यायाम गर्न सहजता बातावरण महानगरपालिकाले बनाएको छ । पोखरामा वर्षेनी दुई ठूला फुटबल प्रतियोगिता र दुई ठूला प्याराथन प्रतियोगिता आयोजना हुदैं आएको छ । मनाकामना केवलकार पोखरा कप फुटबल प्रतियोगिता, सहारा क्लबले आयोजना आहा रारा गोल्डक फुटबल प्रतियोगिता, भुतपुर्व खेलाडी मञ्च नेपालले आयोजना गर्ने पोखरा म्याराथन र अन्नपूर्ण गाँउपालिकामा स्थानीय सेन्चुरी पर्यटन समितिले आयोजना गर्ने अन्नपूर्ण साहसिक म्याराथन प्रतियोगिता आयोजना हुदैं आएका छन् । सुर्य नेपालको मुख्य प्रायोजनमाा हुने वेष्टर्न ओपन गल्फ प्रतियोगिता, लोपोन्मुख ग्रामीण पदयात्रा मार्गलाई पहिचान गर्न पोखरा ट्रेल रेस सिरिजले वर्षमा चार वटा विभिन्न ठाँउमा दौड प्रतियोगिता आयोजना गर्दै आएको छ । लेखनाथको भण्डारढीकमा हरितालिका तीजको अवसरमा स्थानीय आदर्श युवा क्लबले क्लबस्तरीय फुटबल प्रतियोगिता गर्दै आएको छ ।

नेपाल ट्रायथलन संघले आयोजना गर्दै आएको अन्तराष्ट्रिस्तरको(साउथ एशियन च्याम्पियनसिप तथा एशियन कप) ट्रायथलन प्रतियोगिता, लामाचौरस्थिा नव आदर्श सामुदायिक विकास समाज पोखराले पनि तीजकै अवसरमा तीजे महोत्सवसँगै राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना गर्दैै आएको छ । त्यसबाहेक पछिल्लो समय पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिताले पनि पोखरालाई खेलकुदको शहरको परिचय दिईरहेका छन् । राष्ट्रिय खेलकुद परिषद तथा संघसंस्थाले आयोजना गर्ने राष्ट्रिय महिला भलिबल प्रतियोगिता, पोखरा रंगशालाभित्र टेनिस कोर्टमा आयोजना गरिने भेट्रान्स टेनिसले प्रतियोगिताले खेलकुद पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिदिएको छ । ती मध्ये केही प्रतियोगितालाई महानगरपालिकाले आफनो दायित्व र जिम्मेवारी लिदैं मेयर कपको रुपमा अगाडि बढाउनुपर्ने खाँचो खेलकुदकर्मीले औंल्याईरहेका छन् । महागनरपालिकाले भने म्याराथन, क्रिकेट र ट्रायथलनलाई विशेष प्राथमिकतामा राखेको छ ।

ती प्रतियोगितामा महानगरपालिकाको आर्थिक सहयोगको सहभागिता हुन्छ । तर सामान्य रुपमा मात्रै । महानगरपालिकाले अब आफनै ब्राण्डको खेलकुद प्रतियोगिता आयोजना गर्नुपर्ने दायित्व र जिम्मेवारी लिदैं मेयर कप खेलुकद कार्यक्रम गर्ने निर्णय गरेको उनको भनाई थियो । पोखरा महानगरपालिका वडा नं १३ ले महानगरकै पहिलो खेलग्राम बनाउने उद्देश्यसहित ७ रोपनी क्षेत्रफलमा खेलग्राम बनाउने निर्णय गर्दै प्रस्ताव पेश गरिएको वडाध्यक्ष दर्शन लामा सुनाउँछन् । खेल ग्रामका लागि १ करोड रुपैयाँ छुट्टाइएको छ । वडा नं २० मा १७४० मिटरको उचाईमा मौजामा फुटबल मैदान निर्माणको अभियानलाई सार्थकता प्रदान गर्ने लक्ष्य राख्दै ५० लाख रुपैयाँ दिईएको छ । ‘होम स्टेमा खेलाडी राखेर फुटबलको बन्द प्रशिक्षण राख्ने योजनासहित मैदान तयार गर्ने छौै ।’ महागरपालिका वडा नं २० का वडाध्यक्ष सीम गुरुङ बताउँछन् ।

kheladinews.com