सिंगापुरमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकप एसिया फाइनलका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।
नेपालले आइतबार पत्रकार सम्मेलन गरेर कप्तान पारस खड्काको कप्तानीमा नेपाली टोलीको घोषणा गरेको हो । नेपालले पहिलो पटक पत्रकार सम्मेलन गरेर टिम घोषणा गरेको हो ।
नेपालले बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट १४ सदसीय टिमको घोषणा गरेको हो । आईसीसीका प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले नेपाली टोली छनोट गरेका हुन् ।
नेपाली टोलीमा शरद भेषवाकरले पुनरागमन गरेका छन् । गत माघमा भएको युएईसँगको सिरिजमा शरद टिममा थिएनन् ।
सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने विश्वकपको छनोटको रुपमा रहेको फाइनल जुलाई २२ देखि २८ सम्म सिंगापुरमा आयोजना हुनेछ ।
एसिया छनोटमा नेपालसहित आयोजक सिंगापुर, मलेसिया, कतार र कुवेत रहेका छन् । नेपाल पहिलो खेल कतारसंग खेल्नेछ ।
नेपाल र कतारबीचको खेल २३ जुलाईमा हुनेछ । यस्तै नेपालले दोस्रो खेलमा मलेसियासंग २४ जुलाई, २७ जुलाईमा कुवेत र २८ जुलाईमा सिंगापुरसंग खेल्नेछन् । छनोट शीर्ष टोलीले विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउने छन् ।
ग्लोबल छनोट अक्टोबर ११ देखी नोभेम्बर ३ सम्म युएईमा आयोजना हुनेछ। एसिया छनोटमा युएई भने आयोजकको रुपमा स्वतः ग्लोबल छनोटमा पुगेको छ ।




