राष्ट्रिय धान दिवसको अवसरमा पोखरामा आयोजित दौड प्रतियोगितामा महिला र पुरुषतर्फकै शसस्त्र प्रहरी वलले प्रथम स्थान हुन सफल भएको छ ।
७ किलोमिटर फन दौडमा पुरुष तर्फ शसस्त्र प्रहरी बलका विष्णुबहादुर बुढा प्रथम भएका छन् । फेवातालको किनार खहरेबाट शुरु भएको दौड पामेको रोपाई महोत्सवस्थलमा पुगेर टुंगिएको थियो । ७ किलोमिटरको दुरीलाई बुढाले २७ मिनेटमा पुरा गर्दै प्रथम भएका हुन् । दौडमा शसस्त्र बलकै सोमेश हमाल भने २७ मिनेट १० सेकेण्डमा पुरा गर्दै दोस्रो स्थानमा चित्त बुझाए । राजविर ठोकर भने २८ मिनेटमा पुरा गर्दै तेस्रो स्थानमा रहे ।
त्यसैगरि महिला तर्फको प्रतिस्पर्धामा ३३ मिनेटमा दौड पुरा गर्दै शसस्त्र प्रहरी बलकै पूर्णलक्ष्मी न्यौपाने प्रथम भएकी छन् । स्थानीय पोखरास्थित खहरेकी अनिता राई दोस्रो स्थानमा आईन् । उनले दौड पुरा गर्न ३५ मिनेटको समय लगाईन् । खहरेकै अस्मिता बुढाले तेस्रो स्थान कब्जा गर्ने क्रममा ३५ मिनेट २ सेकेण्डको समय लगाईन् । उमेर समूहको प्रतिस्पर्धा अन्तर्गत यु–१६ तर्फको प्रतिस्पर्धामा पुष्पराज पराजुलीले ३२ मिनेटमा पुरा गर्दै प्रथम भएका थिए । उनी पामेका हुन् ।
भेट्रान्स तर्फको प्रतिस्पर्धामा भने ४२ बर्षिय डा. देव थापाले ५१ मिनेटको समयमा पार गर्दै प्रथम भए । त्यसैगरी ५४ मिनेटको समय लगाउँदै तुलबहादुर गुरुङ उपविजेताको रुपमा रहे । पोखरा ट्रेल रेस सिरिजको आयोजना र व्यवस्थापनमा आयोजित दौडमा महिला तथा पुरुष गरी ५६ जना धावकहरुले प्रतिस्पर्धा गरेका थिए । विजेता धावकहरुलाई पुरुष तथा महिलालाई नगद ५÷५,दोस्रो हुने महिला तथा पुरुषलाई ३÷३ र तेस्रो हुनेलाई १÷१हजार नगद पुरस्कार प्रदान गरिएको थियो ।
पामेको फेवाक्लबको आयोजनामा पामेमा रोपाई महोत्सव आयोजना गरिएको थियो । रोपाई महोत्सवको प्रवद्र्धन गर्ने उद्देश्यसहित ट्रेल रेस सिरिजले ७किलोमिटर दौड आयोजना गर्दै महोत्सवमा समन्वय गरेको थियो । सिरिज अन्तर्गत आगामी दौड भने सराङकोटको मेथ्लाङमा हुने सम्भावना छ । त्यसमा विजेता धावकहरुले अंक प्राप्त गर्ने छन् । सिरिजले वर्षमा चार वटा विभिन्न ठाँउमा गोरेटो दौड(ट्रेल रेस) गर्ने गरेको छ ।
kheladinews




