रंगशालामा फुटबल मैदान र बहुउद्देश्यीय कभर्ड हलक लागि ५/५ करोड

डिसेम्बर १–१० सम्म पोखरामा १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगिताका केही खेल खेलाईने छ । कुन कुन खेल भन्ने ठोस निर्णय भईसकेको छैन् । आर्चरी, महिला फुटबल तथा केही इण्डोर गेम पोखरामा सञ्चालन हुने सम्भावना प्रवल छ ।

अहिले जूनको मध्य चलिरहेको छ । सागको लागि समय अनुसार अब पाँच महिना बाँकी छ । पाँच महिनाभित्रमा आवश्यक पुर्वाधार सबै तयार पारिसक्नुपर्ने छ । पुर्वाधारको लागि राष्ट्रिय खेलकुद परिषदले आवश्यक बजेट माग समेत गरिसकेको छ । पोखरामा आयोजना हुने पुर्वाधारको लागि युवा तथा खेलकुद मन्त्रालयको रातो किताब मार्फत आबश्यक बजेट समेत छुट्टाइएको छ । एक अर्ब २८ करोडको फुटबल मैदानको लागि मन्त्रालयले आर्थिक वर्ष २०७६÷७७ को किस्ता स्वरुप ५ करोड रुपैयाँ छुट्टाईएको छ । फुटबल मैदानसहित प्यारापिट एवं सिन्थेटिक ट्रयाकको निर्माण गर्नुपर्ने जिम्मेवारीसहित काम अघि बढाइएको छ ।

डेढ वर्ष अघि निर्माण गरी हस्तान्तरण गरिएको नेपालकै ठूलो बहुउद्देश्यीय कभर्ड हलको आन्तरिक फिनिसङ गर्नका लागि मन्त्रालयले ५ करोड रुपैयाँ छुट्टाएको पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठले बताए । ‘ल्याण्डस्केपसहित कभर्ड हलभित्र पार्केटिङ, साउण्ड सिष्टम र सिट राख्न बजेट छुट्टाईएको हो ।’ उनले भने–‘जतिसक्दो छिटो काम फत्ते गर्नुपर्ने जिम्मेवारी हाम्रो काँधमा छ ।’ हल निर्माण गर्न परिषदले १५ करोड ५७ लाख रुपैयाँ खर्चिएको छ । १४ करोड ३० लाखमा ठेक्का सम्झौता भएपनि नाकाबन्दी र भूकम्पकै कारण आर्थिक भार थपिएको हो । इन्जिनियर प्रनिस ताम्राकारका अनुसार २१५६ सिट क्षमताको हल निर्माण पुरा गरिएको छ । कभर्ड हलको ७७ मिटर लम्बाई र ५० मिटर चौडाईको छ ।

महिला फुटबलको लागि दुई वटा मैदानलाई प्रशिक्षणस्थल बनाउने योजना खेलकुद मन्त्रालयले बनाएको छ । पोखरा १९ लामाचौरस्थित गोस्ते खेल मैदान र पोखरा २५ हेमजास्थित गौरीशंकर खेल मैदानलाई १÷१ करोड रुपैयाँ छुट्टाइएको छ । ती दुवै खेल मैदान स्तरोन्नतिको लागि ५०÷५० लाख उपलब्ध गराई काम गरिएको छ । अब उपलब्ध हुने बजेटले खेलाडीको लागि आवश्यक चेन्जिङ रुम, शौचालय एवं प्यारापिट निर्माणमा खर्च गरिने अध्यक्ष श्रेष्ठको भनाई थियो ।

वर्षदिन अघि ९० लाखको सुनिश्चिततको बजेटबाट निर्माण गरिएको पोखरा रंगशालास्थित ह्याण्डबल एकेडेमीको लागि मन्त्रालयले ५० लाख छुट्टाएको छ । त्यसैगरी आर्चरीको लागि बजेट भने रकमान्तर गरिने सम्भावना छ । टेनिस कोर्ट निर्माणको लागि १ करोड रुपैयाँ छ । टेनिसको पुर्वाधार निर्माण झण्डै सात महिना रोकिएको छ । चेन्जिङ, फिडब्याक रुम, शौचालय, प्यारापिट, हार्ड कोर्ट र एउटा क्ले कोर्ट निर्माण गर्ने योजना कास्की जिल्ला लन टेनिस संघले बनाएको छ । टेनिसको पुर्वाधारलाई मन्त्रालयले दुई करोड ४५ लाख रुपैयाँमा निर्माणको ठेक्का सम्झौता गरेको हो ।

kheladinews.com