ताजा समाचार

असार ११ गते २०७६

किन बन्द भयो कालीगण्डकी नदिमा जलयात्रा(र्‍याफ्टिङ ) ?

कालीगण्डकी नदीमा जलयात्रा (र्‍याफ्टिङ) रोकिएको छ । यस वर्ष असार पहिलो सातापछि मनसुन शुरु भएसँगै नदीमा पानीको बहाब बढ्दै गएपछि र्‍याफ्टिङ बन्द गरिएको हो।

कालीगण्डकी नदीमा अङ्ग्रेजी महिना सेप्टेम्बरको मध्यदेखि अक्टुबरसम्म र मार्चदेखि जुनसम्म जलयात्रा सहज रूपमा सञ्चालन गर्न उपयुक्त हुने व्यवसायी होमबहादुर पुनले जानकारी दिए।

वर्षाको समाप्तिसँगै असोजको पहिलो साता अर्थात् सेप्टेम्बरदेखि पुन सञ्चालनमा आउने उनले बताए। छोटो र पारिवारिक जलयात्राका लागि कालीगण्डकी नदीमा जलयात्रा गर्न आउने पर्यटक प्रत्येक वर्ष बढ्दै गएको छ ।

सिजनको बेला कालीगण्डकी नदीमा अहिले दैनिक दुई/तीन समूहमा पर्यटक आउने गर्दछन्।
पर्वतको कुश्मा नगरपालिका–१ पाङस्थित नयाँपुल तथा मालढुंगादेखि शुरु हुने जलयात्रा स्याङ्जा, पर्वत र गुल्मीको सिमानामा रहेको कालीगण्डकी ‘ए’ जलविद्युत् परियाजनाको जलाशयमा पुगेर टुङ्गिन्छ। तीन दिन लाग्ने सो जलयात्रा पर्यटकका लागि निकै आकर्षक गन्तव्यको रूपमा रहेको छ।